“असारे”

हरिप्रसाद घिमिरे

असार मास असारे भाका गाएर हिँडौँला
हिलोले खायो हात र गोडा पैताला पिडौँला।।

रोपाईँ गर्न लागेका हली खेताला रमाई
पसिना काढी गर्दछन् खेती किसानी कमाई।।

रोपने चेली जोतने हली आँखाले बोल्दछन्
मनमा हुन्छ जवानी खेती पिरती घोल्दछन्।।

खेलेर हिलो नगरी ढिलो हाँसेर बिताउँछन्
घामले पोल्छ पानीले रुझ्छ हाँसेरै मेटाउँछन्।।

षोडशी चेली दोहोरी खेली हिलोले सजाउँछिन्
वैँसको चिनो बढेर होला लाजले लजाउँछिन्।।

वक्षमा हेरौँ चन्द्र र सूर्य आकार देखिन्छ
कपाल काला राता छन् गाला मनमा लेखिन्छ।।

छिनेको कट्टी त्यो उता पट्टि हेर्छन् ती हलीले
बिउका मुठा ताकेर हान्छन् छोएर कलिले।।

हलीको काम छ कति भलो खेतमा रमाउँछ
हलोको भरमा धनीको घरमा जोतेर कमाउँछ ।।

बजाउने गाउने रोपाईँ गर्छन धनीको मेलामा
बाउसे हान्छन हिलोको लाप्पा मिलेको बेलामा।।

हलीले छेप्छ कुदाई गोरु जुधाई नजर
षोडशी सानी देखाई दाँत खुलाउँछिन अधर।।

के धनी मान्छे गरिब मान्छे एकै छ मेलामा
हली र बाउसे रोपार आफैँं त्यो लाप्पा खेलमा।।

खाएर गिठ्ठा पिरती मीठा लगाउउछन् किसान
सक्नु छ मेलो छिटो र चाँढो त्यो हुन्छ निशान।।

तारे र माले बुझ्दछन् कुरा कुदेर रमाउँछन्
हली गोरु खेताला मिली गृहस्थी जमाउँछन्।।

धन्दा छ धेरै आत्तुरी हुन्छ खानाले खाजाले
रमाइलो हुन्छ असार मास बजेको बाजाले।।

अर्म र पर्म गरेर खेती के काम धनको
छिमेकी रुँदा रोएर बस्ने नेपाली मन हो।।