अनन्तकुमार बस्नेत
आषाढ उत्साह लिएर आयो ।
आनन्दको भाव नयाँ दिलायो ।।
आकाशमा बादल गर्जिँदैछ ।
अत्यासले यो मन तर्सिँदैछ ।१।
छर्छन् यहाँ स्वेद गरा गरामा ।
पानी पटाएर जरा जरामा ।।
सौन्दर्यको रास छ कन्दरामा ।
बेफुर्सदी कृषक छन् धरामा ।२।
सौदामिनी चम्चम चम्किँदैछ ।
सत्कर्ममा जीवन लम्किँदैछ ।।
टारी गरा खेत सबै हिलो छ ।
मानौँ यहाँ भू-धर नै गिलो छ ।३।
झर्दा झरिमा जल उर्लिँदैछ ।
सन्त्रासमा ढुक्कुर कुर्लिँदैछ ।।
भर्छन् मिठो नाद सुरम्य झर्ना ।
ओढ्छिन् धरा बादलको उपर्ना ।४।
आलस्यका चीर सबै ढलाई ।
मानो छरी आज मुरी फलाई ।।
आषाढमा यो वय खर्चिँदैछन् ।
उत्साहमा मङ्सिर पर्खिँदैछन् ।५।