
तुलसी पण्डित
बुढी छोराबुहारी अमेरिका जाने भनेका छन् । जान दिउँ । उहाँ गएपछि केही कमाइ गर्लान् । उनीहरुले कमाउन थालेपछि हाम्रो दुख पनि पर भाग्ने छ।
“अँह हुदैन।उहाँ गएपछि हाम्रो रितिरिवाज र भाषा सबै हराउनेछ। यदि यसको लोप भयो भने हाम्रो कुनै शान रहदैन।”
“हेर ती सबै कुरा भन्दा पनि पैसा ठूलो हो । पैसा भएपछि सबै कुरा आउँछ ।”
लोग्नेको अगाडि तिलमायाको केही लागेन। उनको सहमति बिना नै छोराबुहारी अमेरिका पुगे।
छोराले फोन गर्यो।
“आमा छोरी जन्मी ?”
” राम्रो भो। हाम्रो पहिचानलाई न भुलेस्। छोरीलाई पनि सिकाउदै गएस् ।”
केही समयपछि छोरो घर आयो।
आमा तपाईको नातिनी हो यो ?
“आहा ! कति राम्री नातिनी । मलाई काखमा लिन मन छ । यता आउँ नातिनी ?”
नातिनी डेग चलिनन्।
” खै ! आएकी नानी ।”
उनी फेरि डेग चलिनन् ।
“के चाला हो छोरा यसको । बोलाउदा पनि आउदिन?”
छोराले भन्यो।
“आमा उसले नेपाली बुझ्दिन । अङ्ग्रेजीमा बोलाउनु पर्छ ।”
आमाको अनुहारमा एक्कासी परिवर्तन आयो । उनले बूढा तर्फ फर्कदै भनिन् । “ल बूढा अब अङ्ग्रेजीमा मजासँग गफ गर नातिनी सँग । यही पारा हो भने हाम्रो अस्तित्व कसरी रहला अब ।”





