“आदिकवि भानुभक्त”

अनन्तकुमार बस्नेत

यो स्वर्ग झैँ भूमि छनौट गर्दै
श्रीराममा भक्ति अनन्य धर्दै
रोजेर रम्घा रमणीय ठाउँ
ओर्ल्यौ तिमी भानु लिएर नाउँ ।

हे चम्किला भाष्कर भानुभक्त
हे शारदाका सुत रामभक्त
सच्चा तिमी वाङ्मयका पुजारी
बाँच्यौ सधैँ भूतल झल्ल पारी ।

श्रीकृष्ण आचार्य थिए प्रतापी
शिक्षा दिए उच्च प्रपौत्र माथि
घाँसी स्वयम् प्रेरण पुञ्ज मान्यौ
लेख्दा असाध्यै रस भक्ति छान्यौ ।

थोरै पला जागिरमा बितायौ
सम्पूर्णमा भाव भलो चितायौ
गल्ती भयो के अनि जेल हाले
जाँचेर खाता सहजै निकाले ।

ज्योतिर्मयी दीप्त बनेर उल्का
वाल्मीकिको काव्य गरेर उल्था
श्रीरामका पाउ दुवै समायौ
अध्यात्मको चिन्तनमा रमायौ ।

लेखेर प्रश्नोत्तर भक्तमाला
बग्दै गए निर्मल काव्यधारा
साहित्यको आँगन जग्मगायो
जीवन्त रामायणले बनायो ।