
जानकी कर्माचार्य
हरिसिद्वि, ललितपुर
हरिमायाँ समसाँझ खेतको काम भ्यायर घर आइपुगी । घरमा कोही पनि पुगेका थिएन । उनलाई थकाइ भोक दुबै लागेको थियो तर गर्ने के खाना आफूले नपकाई पाक्दैन केटाकेटी ठूला भए भन्नुकामात्र छन्, बल्लतल्ल स्कूल जान्छन नत्र त्यो पनि …? बूढो नगरपालिकाको कार्यालय सहयोगीको जागीरे तलब उसैलाई चुरोट खान पुग्दैन। भएका दुईटा बाख्री पनि भोकै छन्, यिनैले ब्याएका पाठा बेचेर घर खर्च टारनु पर्छ । उनी आफ्नो भोक बिर्सेर मनमनै रिसाउँदै आफूले ल्याएको घाँस बाख्रीलाई हाल्न थाल्छे।
खाना त पकाउनै पर्यो सोचेर चुलो तिर लग्छिन । यतिकैमा छोराछोरी दुबै हाँस्दै आइपुग्छन् । उनीहरुकाो कपडा घुडामा भ्वाङ्ग परेको अनि छोरीको माथिल्लो बस्त्र पनि नाम मात्रको । उनलाई झोक चल्छ र ठूलो स्वरले सोध्छे ” के हो यस्तो गतिछाडा कपडा लगाउन थालेको ? खाई नखाई राम्ररा कपडा किन्दिएको हैन ?”
आमाको कुरा पुरा नहुँदै दुबैले एकै स्वरमा भने , ” फेसन हो नि मामु फेसन अहिले चलेको …”
उनलाई साह्रै रिस उठ्यो। ” यस्तो पनि फेसन हुन्छ। तालनसुरको लुगा लगाउने बहुला जस्तो !”
उनको कुरा काट्दै दुबै ” सभ्यताको विकास , आधुनिकताको विकास भएर संसार कहाँ पुगी सक्यो , तपाईँलाई के थाहा … ?”
ऊ टाउको समातेर थच्क बस्छे र मनमनै सोच्छे उहिले टालाटुली बटुली कति राम्री पुतली हुन्थ्यो , कपडा किन्न नसकेर च्यातेको लुगा लगाउनु पर्दथ्यो। सकेसम्न तनलाई ढाक्ने हुन्थ्यो। तर अहिले सकेसम्न तन देखाउनु पर्ने फेसनको नाममा च्यातेको कपडा लगाउनु पर्ने, कस्तो परिवर्तन कस्तो आधुनिकता …?? उनको भोक नै हरायो खाना पकाउन नै बिर्सी ।





