आमाको रंग


सोम कुमार सुब्बा
लिङ्दोक,पूर्व सिक्किम

घाम अस्ताउँदै थियो, आमा आइपुगिन्, उनी सब्जी बेच्न बजार गइकी थिइन्।
उनले पेटीमा बसेर झोला खोल्दै थिइन्,पति र छोरा बाहिरिए।
उनले दुबैलाई एकएकवटा कमिज दिइन्।
छोराले हत्तपत्त लगाउँदै भन्यो – “आहा, मेरो बेस रंग, कालो।”
आमाले सन्तुष्टिको नजरले उसलाई हेरिन्, मुस्कुराइन्।
उसले बाको कमिजमा आँखा गढ्दै भन्यो – “बालाई किन निलो रंगको ल्याइदिनु भाको,यो रंगको त थुप्रै छन् त!”
“निलो रंग बाको बेस हो नि ।”
उनले पतिको मुख हेर्दै सुझाइन्,पतिले मौन भाकामै स्विकारे।
छोरा भित्रिँदै थियो,एकाएक ढोकामा रोकियो र फर्केर सोध्यो – “आमा,तपाईंको बेस रंग चाहिँ कुन हो?”
“मेरो? अँ, खासै छैन ।” आमा अक्मकिइन्।
छोरा उनको नजिक गयो, टुसुक्कै बस्दै पुनःसोध्यो – “भन्नोस् न आमा,तपाईंको बेस रंग कुन हो?”
“तिमीहरुकै रंगनै मेरो पनि बेस हो।”
आमाले बिट मार्न खोजिन् तर उनको भनाइ र अनुहारको भावले मेल खाएको थिएन।
छोराले आमालाई अंगाल्दै पुनः जिद्दी गर्यो – “प्लिज आमा, भन्नोस् न।” उसको स्वरमा लाडेपन थियो।
केहीक्षण आमा सोँचमग्न भइन्, कटेरोतिर एकोहोरिरहिन् र लामो सुस्केरा छोड्दै भनिन् – “बिहे गर्नुअघि निलो थियो,बिहेपछि सेतो भयो।”
“कसरी?”छोरा झस्क्यो।
“हो छोरा,बिहेपछि सबै आमाहरुको बेस रंग सेतै हुन्छन्।”
उनले अझै उत्साहित हुँदै थपिन् – “किन कि, सेतो रंगमा सबै रंग समेटिनु सक्छ।”