
भगवती शर्मा
फाट्यो सबै तुवाँलो आकाश स्वच्छ पा-यो
मैलो धुलो हटायो सम्पूर्ण ज्योति झा-यो
हुन्थ्यो जहाँ अँध्यारो ल्यायो बिहान ल्यायो
आयो वसन्त आयो आँखा दुबै खुलायो।
डाली नुहे मुनाले भूस्वर्ग फूलबारी
मौरी घुमे बिहानै आएर चालमारी
धर्ती नियाल्न थाल्यो कस्तो अचम्म आयो
आयो वसन्त आयो हाँसो खुसी दिलायो।
पक्षी उडे रमाई निर्विघ्न ठाउँ पाई
हाँसे हिमाल उस्तै डाँफे उडे रमाई
छैनन् अशान्त कोही उर्लेर स्वर्ग आयो
आयो वसन्त आयो सुख्खा धरा रमायो।
आँधी हुरी चलायो फोहोर झन् उडायो
धर्ती सफा बनायो बाजा बजे बिनायो
बैशाख चैत आयो गाथा नवीन गायो
आयो वसन्त आयो फिर्ने सबै फिरायो।
हाँसो लिएर आयो धर्ती हरा बनायो
नाँचे गुलाफ फुल्दै आशा ठुलो जगायो
यो जिन्दगी चिनायो सत्कर्ममा हिँडायो
आयो वसन्त आयो नौलो सुवास ल्यायो।





