गरिमा आचार्य
श्री जनता प्राविधिक मावि, गोलबजार-४, सिरहा
“खर्च गर्दागर्दै प्लान फेल भो मामू !” २५० रुपैयाँ फिर्ता दिँदै मलिन आवाजमा मैले भनेँ।
“मागभन्दा बढता रुपैयाँ हात परेपछि प्लान फेल गर्ने तिम्रो पुरानै रोग हो नानी!”मामूले रोष मिश्रित स्वर निकाल्नुभयो ।
“अरु दिन जे भने पनि आजको दिन त नकराउनुस् ।” मैले पनि उस्तै स्वर निकाल्न खोजेँ ।
केही नम्र भएर उहाँले भन्नुभयो, “उसो भा हिसाब देखाऊ त ?”
“वरपरका भाइबहिनीलाई बाड्न ३७० रुपैयाँको चकलेट, मेरा साथीहरूलाई हातमा थम्याउन २३० को चोकोपन, तीनवटी सँगिनीका लागि १५० रुपैयाँको आइस्क्रिम ।” मैले फेहरिस्त सुनाएँ ।
मामू शान्त हुनुभयो । त्यही मौकामा मैले थपेँ; “महंगीले आकाश छोएपछि जतिसुकै कन्जुस्याइँ गर्दा पनि योजना फेल हुने रहेछ ।”
आफूलाई केही नराखी मैले साथीहरूका लागि मात्रै रकम खर्च गरेको देखेर उहाँ पग्लनुभयो । बाँकी पैसो फिर्ता लिन रुचाउनुभएन । उल्टै मेरा गाला सुम्सुम्याउँदै भन्नुभयो; “यस धर्तीमा सर्वप्रथम मलाई आमाको दर्जा दिलाउने प्यारी छोरीलाई कोटीकोटी आशीर्वादका साथ जन्मोत्सवको शुभकामना !!!”