
घनश्याम रेग्मी
झर्झर् वर्षा अविरल हुने मास आयो असार
खोला नाला छङछङ गरी उर्लिने वारपार
बेर्ना सार्छन् कृषक जनले ब्याडमै हुन्छ आस
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।१
बाँझो खन्दै दिनभर यसै थाक्छ मेरो शरीर
आली कान्ला वर र परको छेउ खन्दा अधीर
बर्खा लाग्यो झमझम झरी छन् नदी वारपार
भित्रै कल्पी मन मन यसै पोखिएँ बार बार ।२
खेती गर्ने समय अहिले कामको चाप जो छ
मेरा भित्री हृदय रहमा वेदना खात पो छ
चट्चट् गर्ज्यो सगरतिर खै काँप्छ मेरो हियार
एक्लै घुम्दी विरह वनमा फर्किएनन् पियार ।३
गर्मी उस्तै तन र मनको भिज्न जाऊँ झरीमा
रोपार्नीले रस रङ भरे गीतको लैबरीमा
कालो मैलो कहर तमको निख्रिने लाग्छ आस
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।४
डाँडा पाखा वरपर सबै डम्म ढाकेर हुस्सु
देख्नै गाह्रो सघन कुहिरो छेक्छ आएर दस्यु
मेरा प्यारा सहरतिर छन् फर्किने लाग्छ आस
आषाढस्य प्रथम दिवसे भन्दथे कालिदास ।५





