
प्रभादेवी पौडेल
भरतपुर ९ , चितवन
यो हजुरबालाई , यो हजुरआमालाई , यो आमालाई, यो बालाई, यो भाइ र बुहारीलाई अनि यो भदा भदिनीलाई।”
यतिधेरै नयाँ लुगा देखेर बसुन्धराले सोधिन् , ” छोरी पटकै पिच्छे किन खर्च गरेको ? अलि अलि संचय गर्ने बानी पनि बसाल्नु पर्छ, भोलि के पर्छ के पर्दैन। फेरि कुटुम्बको खानु पनि त्यति राम्रो हुँदैन भन्छन्।”
आमाका कुरा सुनेर रमाले उत्तर दिइन्, ” के भयो त आमा , माइतीलाई गार्हो साँघुरो पर्दा छोरी चेलीले नहेरे कसले हेर्ने , हजुर आफैँ भन्नु त ? त्यसैमाथि भाइको कमाई छैन । मेरोलागि कत्ति पीर गर्नुपर्दैन , भगवानले प्रसस्तै पुर्याउनु भएको छ। हजुरलाई एउटा कुरा थाहा छ आमा ? नयाँ घडेरीमा सरेदेखि ज्वाइँको कमाई पनि निक्कै राम्रो हुँदै गइरहेको छ नि ।”
“त्यो त हो छोरी तर ज्वाइँ साहेबले हिसाब खोज्नुहुन्न?”
“खोज्नुहुन्न , उल्टै माइतीमा के आवश्यकता छ सोध पो भन्नु हुन्छ त । त्यस्तो खोज्ने नै भए यो घर घडेरी किन भाइको नाममा पास गरिदेऊ भन्नुहुन्थ्यो र?”
हुन पनि आफू बनेर माइतीमा पनि भरिपूर्ण बनाएको देखेर उनलाई सबैले भगवानको अर्को रुप मान्दै आएका थिए।
चाडबाडको बेला साना ठूला सबैजना जम्मा भएर तास खेल्दै थिए एक्कासि ढोका बाहिर गाँईगुँईको आवाज आयो। उनीहरूले हातको तास लुकाए। मुली मान्छे आएर ढोका खोले। एउटा मान्छे सामुन्ने आएर टाठो स्वरमा सोध्यो, “रूपकको ससुराली घर यही हो ?”
यो सुन्ने बित्तिकै रमाको होस् हवास उड्यो। उनी अघि सरेर भनिन् , “हो हजुर म उहाँकी पत्नी हुँ , कतै उहाँलाई केही त भएको छैन नि ? ”
“छैन छैन।”
” कहाँ हुनुहुन्छ त उहाँ अहिले?”
“त्यही थाहा नभएर त हामी यहाँसम्म आएका। कुनै व्यक्तिले दिएको उजुरीका आधारमा। ” रूपक भन्ने व्यक्तिले सबै सरकारी सम्पति अपचलनगरी ससुरालीमा समेत बस्दोबस्त गरिदिएको भन्ने किटानी जाहेरी परेकोले सोही अनुसार हामी सबैलाई सोधपुछ गर्न लिन आएका।”





