
सरिता पराजुली
चन्द्रागिरि-१५,काठमाडाैं
राम्राे वस्तु राम्रै हुन्छ
सबकाे मन हर्छ
इन्द्रियलाई राेक्न सक्ने
भन कुनै जन छ ?
स्वर्गबाट घुम्न भन्दै
इन्द्र आए धर्ती
ज्यापू दाइकाे बगैँमा
बस्याे माया प्रीति।
ऐरावत हात्ती चढी
राति राति आई
पारिजातकाे फूल टिपी
दिन्थे रानीलाई।
सधैँफूल हराउँदा
मन थियाे खिन्न
अप्ठेराेमा पर्याे अझै
चाेरलाई चिन्न।
एक दिन रूखभरि
लिसाे लगाएर
घरगई मस्तसँग
सुत्याे निदाएर।
बिहान भाे घुम्न भन्दै
बगैँचामा आयाे
इन्द्रदेव शिर झुकाई
टासिएकाे पायाे।
चाेर भन्ने सानाे ठुलाे
हुन्न भन्ने ठहर
सभाबाट पारित भयाे
काट्नु पर्याे कहर।
वर्षदिनमा एक पटक
धरतीमा आई
अनुहार देखाउनु
पर्याे सबैलाई।





