होली विशेष

लक्ष्मण ज्ञवाली
तिलोत्तमा १
रूपन्देही
“यसपालिको होली अलि फरक ढङ्गले मनाउनु पर्छ है रोजीना ” कल्पनाले प्रस्ताव गरिन्।
“कस्तो फरक ढङ्ग हो मैले कुरो बुझिन नि !”
फरक ढङ्ग भनेको – “हाम्रो कोलोनीको कम्पाउण्ड भित्रै मात्र हामीहरूले होली खेल्ने ।”
“अवान्छित रङ्हरूको प्रयोग नगर्ने ।”
“आफ्ना परिचित साथीहरूसँग होली खेल्ने ।”
“भाङ् धतुरो गाँजा आदि लागुपदार्थ नराखेका शुद्ध मिठाइका परिकार र अन्य खाद्य परिकारको स्वाद लिंने।” “छरछिमेकका साथीहरू बिचमा धुमधामसँग नाचगान गरेर यो पर्व मनाउने हो ।” कल्पनाले कुरा प्रष्ट पारिन्।
“चार दिवारी भित्र खेलिने होली पनि के होली ?” रोजिनाले कल्पनाको प्रस्ताव रूचाइनन् ।
” हेर रोजिना हामी आफ्नो गाउँ घर टोल मोहल्लामा छौँ सुरक्षित छौँ ।
“खुला सडकमा होहल्ला गर्दै हिंडेका उदण्डहरूको जमातमा मिसिएर हिड्नु समस्या निम्त्याउनु बाहेक के हुन सक्ला र ? कसैले टाउकोमा अण्डा फुटाइ देलान् , कसैले ढलको पानी र मोविल दल्देलान्, कसैले दुर्व्यवहार गर्लान्, जोगिन पनि त गाह्रो छ । मनमोहक सौन्दर्यपूर्ण ठाउँ हाम्रै टोलमा भएकोले पनि यो ठाउँ उपयुक्त छ त !”
कल्पनाले आफ्नो प्रस्तावलाई दोहोर्याईन् ।
“त्यसो भनेर कहाँ हुन्छ होलीको दिन त हामी पनि एक गठ भएर बजार चहार्ने हो । परिआए भिड्ने हो। प्रतिकार स्वरूप खुर्सानीको धुलो चटाउन हाम्ले पनि जाँनेका छम् । असत्य माथि सत्यको विजय भएको दिनमा पनि के हारेको मानसिकता लिएर हिड्नु ?”
रोजिनाले विद्रोहका स्वर ओकेलिन्।
कल्पनाले धैर्यपूर्वक सम्झाउँदै भनिन्, “हेर रोजिना,यो होली पर्वमा निलो,रातो पहेलो,हरियो ,वैजनी ,अस्मानी र सुन्तला समेत सातै रंगको सम्मिश्रण गरिएको हुन्छ । यो पर्वलाई सद्भाव युक्त बनाउनु पर्छ।”
“आउ रोजिना हामी पनि प्रेम, सद्भाव र खुशी साटौँ ।जीवनलाई इन्द्रेणी जस्तै रंगीन बनाउँ ।”





