“उजुरी”

233

अम्बिका धिताल
कमलविनायक भक्तपुर

“अझै पनि किन हुन्छ सर भेदभाव ?” तिलकको प्रश्नको उत्तर सुन्न कक्षामा सन्नाटा छायो। सामाजिक विषयमा ‘भेदभाव’ शीर्षकको पाठ पढाइरहनुभएको थियो जितेन्द्र सरले । उहाँलेभन्नुभयो,”सबैले ध्यान दिएर सुन ,अझै पनि मानिसमा चेतनाको स्तर कम छ ।

त्यही अशिक्षा र अन्धविश्वासले गर्दा काहीँकतै यस्ता घटना घट्ने गर्छन्।” हत्तपत्त रामले उठेर भन्यो,” पढेलेखेका मान्छेहरुले पनि यस्ता काम गरेको भन्ने समाचार आउँछ नि सर अशिक्षा मात्र कसरी भयो त ?” जितेन्द्र सरले संयमित हुँदै भन्नुभयो,”हो उनीहरु पढेका तर अन्धविश्वासको पछि लागेकाले समस्या भएको हो ।” रमिताले जुरूक्क उठेर सोधिहालिन्,” यस्ता घटना घटे भने कहाँ अजुरी गर्ने सर ?” सरले भन्नुभयो,”अहिले त धेरै सजिलो छ । आफ्नै ठाउँमा स्थानीय सरकार छ । त्यहाँ गएर उजुरी गर्ने।” यति भनेसँगै खाजा खाने घण्टी बज्यो । सबै विद्यार्थी चौरमा बसेर खाजा खाँदै थिए । रामले दौडँदै गएर टेबुलमा राखिएको बोतलको पानी घटघटि पियो। “मैँले त्यहाँ राखेको पानी किन तैँले छोइस् ?”भन्दै सरले लाठ्ठी बर्साउनु भयो। विद्यार्थीहरूले घेर्दै भने,”शिक्षा दिने ठाउँका शिक्षकबाटै यस्तो भेदभाव ? , खै तपाईंले कक्षामा दिनुभएको शिक्षालाई व्यावहारमा उतार्न सक्नुभयोको । सबैजना जाउँ अब पालिकामा गजुरी गर्न ।”