
नन्दलाल आचार्य
हिजो साँझ छोरोले निकै उत्साहका साथ भनेको थियो, “बाबा, जन्म दिनको अवसरमा भोलि हजुरका लागि एउटा विशेष सरप्राइज दिने छु !”
त्यसबेला बाबुको मन खुसीले गद्गद भएको थियो । बाबाले सोचेका थिए- सायद छोराले मेरो फाटेको जुत्ता फेरिदिनेछ वा बुढ्यौलीका लागि एउटा न्यानो स्विटर किनिदिनेछ।
आज बिहानै छोरो मुस्कुराउँदै कोठामा पस्यो । उसको हातमा एउटा सानो बट्टा थियो । बाबुले काँप्ने हातले बट्टा खोले। भित्र एउटा महँगो र चम्किलो ‘स्मार्ट घडी’ थियो।
बाबुले घडी हेरे, त्यसपछि छोराको अनुहारमा हेरे र मलिन स्वरमा सोधे, “यसले के गर्छ छोरा ?”
छोरो गर्व गर्दै भन्यो, “बाबा, यसले हजुरको मुटुको धड्कन नाप्छ, कति पाइला हिँड्नुभयो भन्ने गन्छ र हजुर कति बेला सुत्नुभयो, सबै रेकर्ड राख्छ।”
बाबुले लामो सुस्केरा हाल्दै घडी टेबुलमा राखे र भने, “बाबु ! मुटुको धड्कन त मलाई एक्लो पारेर तिमी बाहिर जाँदा पनि बढ्छ, के त्यसले मेरो ‘छट्पटी’ पनि नाप्न सक्छ र ?”





