उमा छेत्री


कृष्णलाल शर्मा
जागीरोड, असम

“उमा छेत्री ! धन्य तिमी ! क्रिकेट विश्वमा पहिलो महिला विश्वकप -२०२५ की विजेता —उमा छेत्री ! हार्दिक अभिनन्दन !!!”
अनायासै लाखौँ लाख टिलिभिजन हेर्दै गरेका दर्शकले आनन्द उल्लास मनाउने क्रममा गीता दिदीले भने उमा छेत्रीको उच्च प्रशंसा गर्दै सरासर आफ्नो मोवाइलमा यसरी स्टेटस लेखिन ।
अलिबेरमा एकाएक लाइक कमेन्टहरू बेस्सरी आउन थाले । क्षणक्षणमा गीता दिदीले आफ्नो स्टेटस पुनः पुनः हेर्दै साथीहरूका कमेन्टहरू पढ्न थालिन्।
यत्तिकैमा उनकी एकजना सहेलीले पुनः उमा छेत्रीको प्रशंसा गर्दै लेखिन  “गोर्खा चेली उमा छेत्रीको जय जय होस ! जय गोर्खा।”
अर्की एउटीले लेखिन — “सम्पूर्ण भारतीय महिला क्रिकेट टीमको बधाई । टीम इंडिया की जय हो।”
अर्की एउटीले लेखिन– “असम कन्या – उमा छेत्रीलाई अभिनन्दन। जय आइ असम।”
गीता दिदीलाई गोर्खा र अन्य जाति जनगोष्टिका साथी सहलीहरूका यस खालका धेरै कमेन्टहरू पढ्दै जाँदा आँफुमा असामञ्जस्यताको वोध हुन थाल्यो । त्यस्तो अनुभव हुनु पनि स्वाभाविक नै थियो । किनकि गोर्खाली कतिपयले गोर्खा चेली, असमिया भाषीले असम कन्या , अरू अरू भाषीले भारतीय चेली लेखेर मुक्त मनले प्रशंसा गर्नु स्वाभाविक थियो। धेरैजसोले त झन आफ्नो जात धर्म माथि रहेर “उमा छेत्री लगाएत सम्पूर्ण नारी शक्ति विशेष गरि टीम इन्डियालाई अभिनन्दन” भनेर लेखे। त्यसपछि गीता दिदीको धन्यवाद दिने पालो पऱ्यो । उनी अलिक धेरै आवेगिक बन्दै‌ आफ्ना मित्रहरूलाई जवाफ फर्काइन –” विश्व विजेता भारतीय नारी शक्ति – जिन्दावाद ।”