
गणेश आत्रेय
मदनपोखरा,पाल्पा
जाडो तुसारो ठिहिरो भगाउँदै।
मैना चिसो फागुन त्यो धपाउँदै॥
न्यानो मिठो चैत्र उदाउँदैछ यो।
उल्लासले बाग सजाउँदैछ यो॥
नाचे खुले वृक्ष लता र कानन।
हाँसे मुना पात भरी नयाँपन॥
रङ्गीन बन्दैछ बगान जङ्गल।
छर्दैछ आनन्द वसन्त मङ्गल॥
गाना झिकी गाउँछ कोइली चरी।
नाच्छन् मिठो ताल झिकेर वल्लरी॥
छर्छन् खुशी बासनसाथ मञ्जरी।
सङ्गीत भर्छन् मनचाह निर्झरी॥
आनन्दका छन् दिनरात गोधुली।
निर्बाध हाँस्छन् हिमशैलका चुली॥
बग्छन् नदी शान्त बनेर सल्सल।
चल्छन् हवा हर्पल हेर सल्बल॥
फक्रे फुले चाँप गुराँस पाँकुरी।
पैयूँ अँगेरी र मियाल लाकुरी॥
फुल्दा अनेकौँ वन बागका बुटा।
भुल्छन् व्यथा सङ्कट लाग्दछन् झुटा॥
यो चैत वैशाख खुशी बढाउँछ।
स्वर्गीय आनन्द वसन्त ल्याउँछ॥
आहा र चाहा हियरा विषे घसी।
प्यारो सबैको ऋतुराज आउँछ॥





