
यज्ञ भण्डारी
बेलबारी मोरङ
“यो संसार हाम्रो पनि हो, हामी योसँग बिना कसुर किन डराउने ” भँगेरोले भन्यो।
” हामीलाई भेट्यो कि एकै सासमा निलीहाल्छ नडराएर के गर्नु रुपीले भन्यो।
आफू बस्ने दुलो र त्यस बाहिरको केही भूभागलाई आफ्नो साम्राज्य र आफूलाई त्यहाँको राजा ठानेर आत्मरतिमा रमाइरहने गोमन सर्पको बिरुद्ध पन्छीहरूले योजना बनाए।
ऊ सधैँ झैँ आज पनि निर्भीकताका साथ दुला बाहिर निस्कियो र आफ्नो रवाफ देखाउन धैरे पन्छीहरूको आवासस्थल भएको अजङ्गको रुखतिर लाग्यो।
कुहू कुहू गरेर कोइलीले सर्प निस्किएको संकेत गर्यो । काग, भँगेरा लगायतका सबै पन्छीहरू सर्पलाई ठुङ्न लागे।सर्पले कालो जिब्रो लपलपाउँदै हुँङ्कार्यो ।
कागले टाउकोतिर कोइलीले पुच्छरतिर एकैपटक झम्टिए। उ आत्तिएर भुँईमा झर्यो । गरुडले हत्त न पत्त सर्पलाई लामो चुच्चोले च्यापेर सलक्क निलिदियो ।
खुशी हुँदै भँगेरोले भन्यो “एकता भयो भने आतंककारी शिकारीको पनि शिकार गर्न सकिँदो रहेछ ।”





