तिलक तारामी “रेशाली”
बुटवल – ११, रुपन्देही
“तेरो कपडामा धुलैधुलो लागेको छ त ! कतै लडिस् कि क्या हो ? ” रुक्मागतले प्रश्न गरे।
“वृक्षारोपण गरेर आएको नि, काका !” रोहितले गर्व गर्दै भन्यो।
“वाइयात कार्यक्रम ! जनताले तिरेको करको सत्यानाश मात्र।” रुक्मागत चिन्तित देखिए।
विश्व वातावरण दिवस थियो। पारीको नाङ्गो पाखोमा वृक्षरोपण कार्यक्रम थियो। प्रमुख अतिथिको रुपमा मन्त्री आएका थिए। नाचगान र खानपिनको समेत राम्रै बन्दोबस्त थियो।
“किन र काका ? वृक्षारोपण त गर्नुपर्यो नि ! हरियाली बढाए पो वातावरण स्वच्छ हुन्छ त ! अनावृष्टि र अतिवृष्टि हुँदैन। भूक्षय रोकिन्छ।” रोहितले वृक्षारोपणको महत्व बारे लामै बखान गर्यो।
“त्यो त मलाई पनि थाहा छ। तैलें भन्नुपर्छ र ? खुबै जान्ने पल्टिदों रहेछ।” रुक्मागत क्रोधित देखिए।
“त्यसो भए किन विरोध गर्नुहुन्छ त ? ” रोहितले वास्तविकता जान्न खोज्यो।
“तिमीहरूले त्यहाँ पाँच वर्ष अघिदेखि हरेक वर्ष वृक्षारोपण गरिरहेका छौ। अझैसम्म पनि त्यो पाखो उस्तै उजाड छ, किन त ? ” रुक्मागतले मनको कुरा उजागर गरे।