“कर्मको महिना असार”


घनश्याम रेग्मी

असार मास कामको चाप रोपाइँ गरेको
पानीका कुला बढेका खोला फड्केमा तरेको
बेंसीको खेत कुलोको पानी बाउसे रोपार
मिलेर धान रोपेका हिजो सम्झना हजार।

सिर्जना गर्ने असार मास मङ्सिर उन्नति
झ्याउरे भाका असारे गीत साथी र सङ्गति
बाउसे हली बियाडे दिदी रोपार्नी सानीका
धेरै छन् कथा हृदय भित्र घाम र पानीका।

बिहान पख हलो र जुवा कोदाली बोकेर
फाँटमा ओर्ली रोपिन्थ्यो खेत गीतमा भुलेर
असारे गीत कोइली गला बजेको बाजाको
सुनौला दिन बालक काल छ अझैँ ताजा त्यो।

पुराना दिन कल्पना गर्दै त्यसैमा हराएँ
सुनौला कथा छन् भने भन सम्झना गराएँ
सहर पसी फोटाका निम्ति गमला नरोज्नु
पसिना धारा तर्तर पार कर्ममा छ जुट्नु ।।