“कर्मानुसारको फल”

203

कृष्णशरण उपाध्याय पौडेल

छन्द : स्रग्विणी

वृक्ष दोषी भए दुष्ट फल्छन् फल
वृक्ष राम्रो भए पुष्ट फल्छन् फल
अन्न जस्तो लियो हुन्छ उस्तै मन
भाव मीठो भए मिल्छ मीठोपन।

बीज रोपिन्छ जे हुर्किने हो उही
कर्म साधिन्छ जे देखिने हो उही
नीम रोपेर के सुन्तला फल्छ र ?
तेल हाले विना दीप के बल्छ र ?

सोच नै हेतु हो सोच नै कारण
सोच ले कार्य को गर्छ निर्धारण
सोच सच्चा लिए कर्म बन्छन् महान्
कर्म सच्चा गरे धर्म हुन्छन् महान्।

त्रस्त नेतृत्व ले क्रान्ति के गर्छ र ?
जीव – हिंसा गरे शान्ति के मिल्छ र ?
क्रान्ति को पूर्णता हुन्छ विक्रान्तिले
शान्ति को व्याप्तता हुन्छ विश्रान्ति ले।

दोष ले दोष को दाग जन्माउँछ
प्रेम ले प्रेम को राग जन्माउँछ
सत्य-सन्धान ले ज्ञान नै खुल्दछ
मान-सम्मान ले मान नै मिल्दछ।

विक्रान्ति = वीरता
सत्य – सन्धान = सत्य को खोज