“कल-झगडा”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

एक्कै छिन् त सुन्दा पनि भएँ झसङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग।

हाम्रो बिचमा त्यस्तो कैल्यै हुन्न लफडा
बाहरूको किन हुन्छ कल-झगडा
नबुझेर ट्वाल्ल परेँ भएँ खङ्ग्रङ्ग
के दुश्मनी रै´छ र हो तिम्रा बासँग ?

कसले कुन्नि कैले कहाँ कस्तो बिगार गरे ?
सधैं मिल्ने मान्छे आज किन त्यसै लरे ?
आफ्नो भने मन त्यसै भयो भरङ्ग
मेरा बाले निहुँ खोजे रे तिम्रा बासँग।

सँगै हाँस्दै, गफ गर्दै हिँडिरा´छन् ऐले
सुन्दै छु म चिया पिउन पसल गा´छन् ऐले
कैले लर्ने कैले मिल्ने परे म दङ्ग
मेरा बालाई सँगै देखेँ तिम्रा बासँग।

बाहरूको कुरा के हो उत्तर खोजियो
`कल´ भनेको `फोन गर्नु´ हो भन्ने बुझियो
रमाएँ म, मक्ख परेँ, भएँ फुरुङ्ग
मेरा बाले कल गरेछन् तिम्रा बासँग।