तुलसी पण्डित
स्कूलबाट शिक्षकले छोरो मसिनेलाई घरमा सचेत गर्न खवर पठाए । यो थाहा पाएको बाबु थले मुर्मुरियो । आफ्नो सपनामा आघात भएको सम्झ्यो । उसले बेलुका आएर छोरो मसिनेलाई बोलायो ।
मसिने आएर भन्यो । “किन बाबा ?” “लौ खात चोर स्कूलमा चोरी काम गर्छस् अरे । फेरि सबै साथीहरुलाई कुट्ने पिट्ने गर्छस् अरे ?” बाबाले गालामा हानेको चोट उसले सहन सकेन । ऊ डाको छोडेर रोयो ।
आमा जुनु दौडदै आइन् । “के भो बाबु किन रोएको ?” “बाबाले गालामा बेस्कन पिट्नु भयो भन्दै ऊ झन् डाको छोडेर रुन लाग्यो ।
“आफूले जन्माउनु परे पो माया लाग्थ्यो र । किन पिटेको छोरालाई ?”
” हेर्न यसले स्कूलमा बदमास गर्यो अरे । सरहरुले खवर गरेका थिए ।” “सम्झाउने बुझाउने पो हो यसरी निर्दयी बनेर पिट्ने हो त ? अब आइन्दा यसरी पिटेको थाहा पाए म छोडपत्र गर्नेछु ?”
स्वास्नीको यो धम्कीले थलेको मनोवल गिर्यो । “ल म अब केही गर्ने छैन । छोरोलाई असल मान्छे बनाउँ भै हाल्यो ?”
” मेरो छोरो जस्तो सुकै बनोस् । तलाई केको सरोकार ।” यसरी आमाको माया पाएर मसिनेको आत्मवल बढ्यो । उसका अपराध बढ्दै गए ।
घरमा न पढ्ने । साथीहरुलाई पिट्पाट गर्ने । उसले गरेको कर्तुतको विभिन्न रिपोर्ट घरमा आए । आमा मनुले उनीहरुलाई नै तथानाम गाली गरिन् ।
“कहाँ छ मेरो छोरो त्यस्तो ? कति रिस गरेका हुन् सबैले उसको ।” यस्तो भन्दै जुनुले छोराको ढाकछोप गरिन् । केही समयपछि छोरो प्रहरीको खोरमा जाकिएको खवर आयो । आमाले कारण बुझिन् । छोरो त जग्स खाने र विभिन्न गिरोहको लागि ओसारपसार गर्ने गर्दो रहेछ ।
प्रहरीले भने । अब ऊ यो केशमा जेल पर्ने छ । जुनुले श्रीमान थलेलाई रुदै भनिन् । “ल न छोरालाई प्रहरीबाट छुटाउनु होस् । यो केश माथि गयो भने छोरो जेल पर्छ रे ।”
” हेर यो सबै तिम्रै कुकर्मको फल हो । बढी माया दिएपछि यस्तै हुन्छ ।”