क्वाँटीको स्वाद


अम्बिका धिताल
कमलविनायक

बाहिर मानिसको चहलपहल धेरै थियो। श्रावणको मध्यतिरको दिन झरी परिरहेको थियो। मैले भान्साबाट बोलाएँ , “आइजो बाबु, क्वाँटी पाक्यो।” छोरो दौडिँदै किचनमा आयो र भन्यो, “ममी ! क्वाँटी भनेको के हो ?” “नौ थरिका गेडागुडी मिलाएर बनाइने विशेष सुप हो बाबु । यिनैमा जीवन लुकेको छ,” मैले मुस्कुराउँदै भनेँ । छोरोले चम्चाले एक चुस्की क्वाँटी खाँदै भन्यो, “ओहो! कस्तो स्वादिलो! यो किन यति मिठो भएको ममी ?” मैले भनेँ, “क्वाँटी मिठो हुनुको कारण यसको स्वादमा संघर्षको कथा लुकेको भएर हो बाबु ।” “कसरी ?” उसले पुन : प्रश्न तेर्सायो । मैले मुस्कुराउँदै भने, “यी गेडागुडी फरक फरक ठाउँमा फल्छन्,भिज्छन्, उम्रन्छन्, अनि एकै भाँडामा मिसिन्छन्। हाम्रो जीवनका रङ्गहरू र अनुभवहरू पनि फरक-फरक भएपछि मात्र हाम्रो जीवन पनि परिपक्क र स्वादिलो बनेको बन्छ। ” एकैछिन वातावरण शान्त भयो। कचौराबाट भने क्वाँटीको बाफ उडिरहेको थियो। छोरोलाई मानव जीवन बुझाउन सकेँ कि भनेर म सोच्दै थिए । मौनतालाई चिर्दै छोरोले भन्यो, “ साँच्चै ममी हाम्रो जीवन फरक-फरक स्वादको सामञ्जस्य र जीवनका अनेक पाटाहरूको स्वादिलो मिलनबिन्दु रहेछ है?”