“खाजा”

बिन्दु पौड्याल वस्ती

खाली पेट नराखौँ
के खाने सबले जानौँ
चाउचाउ, मम, वर्गर
गर्छ त्यसले बेगार।

बन्छ सबै मैदाको
रोग यसले भित्र्याएको
पेट पनि दुखाउने
पैसा सबै सकाउने।

चुरुमचुरुम मकैभट्ट
दाँतलाई पार्छ दुरुस्त
घिउ राखेको जाउलो
छिटो, मिठो, सजिलो।

दूधमा चामल खिर
खाने अचारसित
सिराम्रलाको खट्टे
खादै खेल्ने खुट्टे।

पुवा रोटी मिठो
स्कुल लान झन छिटो
पाक्छ कहिले लट्टे
झुटो होइन सत्य।

कहिले हलुवास्वारी
आलु केराउ तरकारी
चाडपर्वमा रमाउनी
सेलरोटी समाउनी।

मिठो मासको फुरौला
फलफुलले घेरौला
यिनै कुरा रोज्नु
स्वस्थ रहन खोज्नु।