खीरको टिकट


लक्ष्मी रिजाल
रूपनगर, सप्तरी

“कृपया बोर्डिङ पास देखाउनुहोस् !” यस्तो उर्दी सुनेर एयरपोर्टको चेकइन काउन्टरमा उभिएको युवक झस्कियो । “य… यो…” ऊ झोला खोतल्दै थियो, तर झोलाबाट एउटा चिट खस्यो- पुरानो, खुम्चिएको, आमाको हातले लेखिएको चिठी।
“साउन १५ मा खीर बनाउँछु है, बाबु । त्यो थाल त अझै पनि तिमी नआउँदा खाली हुन्छ…।”
कर्मचारी महिलाले चिठी उठाएर पढिन् । एक छिन केही बोलिनन्।
“यसको टिकट छ ?” उनले चिठी देखाउँदै फुसफुसाइन् ।
“खीरको लागि हो ।” युवकका आँखा रसाइरहेका थिए, “तर अन्तर्राष्ट्रिय प्रणालीमा त्यो टिकट दर्ता हुँदैन क्यारे !”
“तपाईँको बुकिङमा गन्तव्य ‘घर’ लेखिएको छ, तर सिट ‘सम्झना’ मा परेको देखिन्छ ।” महिला झनै भावुक भइन्, “हामी प्राविधिकहरूलाई त्यसको मूल्य थाहा छैन…।”
युवकले फोनको स्क्रिन देखायो- भिडियो कलमा आमा खीर हाल्दै थिइन्, काँसको झर्के थालमा।
“खीर पाकिसक्यो बाबु, आज पनि तिमी आइसकेको थाललाई हेरिरहेकी छु…।”
एकछिन मौनता छायो । चेकइन मेसिनले टिकट छापेको थिएन, तर आमाको चिठीले यात्राको दिशा बताइसकेको थियो।
महिला अधिकारीले गहभित्रको कम्पन लुकाउँदै भनिन्, “यो भावनाको उडान हो, बोर्डिङ पास तपाईँको आत्माले छाप्छ ।”
रुन खोज्दै रोकिएको युवक अरुले नसुन्ने बोलीमा फुसफुसायो, “खीर परिकार मात्रै होइन, घर फर्काउने पासवर्ड रहेछ…!”