अनन्त कुमार बस्नेत
छ ज्येष्ठ मैन्हा उखपात गर्मी ।
आदित्य ठान्दोछु भए अधर्मी ।।
तातो छ हावा दिनरात चल्दो ।
संसार देखिन्छ धपक्क बल्दो ।।
रुच्दैन खाना न त भोक लाग्छ ।
चाहिन्न नाना न त चाह जाग्छ ।।
केही गरूँ जाँगर छैन भित्र ।
छ यो धराधाम बडो विचित्र ।।
आकाशमा बादल देखिँदैन ।
जाऊँ कतै शीतल भेटिँदैन ।।
चरा उडेका तल खस्न थाले ।
सिँयाल रोजी सब बस्न थाले ।।
प्रस्वेद बग्दोछ शरीरबाट ।
आनन्दको छैन दिवा र रात ।।
टारी गरा खेत चिरा परेछ ।
मानौँ स्वयं अग्नि यहाँ झरेछ ।।
भयो यहाँ मुस्किल बाँच्नलाई ।
खोजूँ कहाँ कारण हाँस्नलाई ?
वर्षाइदे बादल आज पानी ।
हर्षाइदे सुन्दर जिन्दगानी ।।