
टीकाराम जाेशी, टीकापुर
” निकै प्रगति गर्नु भएछ दाइ शहरमा आएर।” रमेशमानकाे पत्नीले ल्याएको चिया सुरुप्प गर्दै गणेशमानले भन्यो।
“काम गरे पैसै पैसा छ शहरमा।” रमेशमानले भन्याे।
“मलाई पनि काममा लगाई दिनुस् न। तपाँईकाे त यहाँ धेरैजनासँग परिचय छ। यसाे महिनाकाे पन्ध्र बीस हजार पाए पनि आफ्नाे खाना खर्च त चल्छ हाेला।”गणेशमानले आफु गाउँबाट आउनाकाे कारण बतायाे।
“हेर भाइ! अर्काकाे चाकरी गरेर तिम्रो गुजारा मात्रै हाेला। तर घर परिवारलाई राम्रो अवस्थामा राख्न सक्दैनाै।”
“अनि के गराैँ त?”
“सानाे टपरी बनाएर पानीपुरी,चाट जस्ता कुराहरु बनाउ । आजभाेलि याे काममा राम्रो पैसा कमाएका छन्। तिम्रा ग्राहक बिस्तारै बढ्दै जान्छन् र कमाइ पनि हुँदै जान्छ।”
“जिजुबाजेले नगरेकाे काम गरे के भन्लान् दाजु भाइहरुले ? बरु दाइले गर्ने काम मलाई पनि सिकाउनु पर्याे।”
“भाइ ! मैले त यस शहरकाे फाेहाेर उठाउने काम गरेकाे छु।”





