गाईजात्रा: एक सङ्क्षिप्त परिचर्चा

179

लेखन : श्री लजना श्रेष्ठ
कक्षा : १०
गोल्डेन पिक स्कुल

हाम्रो देशका मुख्यमुख्य पर्वहरुमा जात्राले महत्वपूर्ण ठाउँ ओगटेको छ । यसमध्ये गाईजात्रा पनि एक हो । गाईजात्रा नेवार समुदायको सत्रौँ शताब्दीदेखि चलिआएको प्रथा हो । यसलाई गाईहरुको एवं हाँसो र ठट्टाको पर्वका रुपमा पनि चिनिन्छ । यो पर्व विशेष गरी काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय नेवारहरुले मनाउने गर्दछन् । गाईजात्रा नेवार समुदायको ठुलो पर्व हो, जसमा पितृहरुको सम्झनामा गाई र जोगीका साथ सडकमा जुलुस निकालेर प्रदर्शन गर्ने गरिन्छ । आफ्नो घरमा कुनै आफन्तको मृत्यु भएको एक वर्षको अवधिमा रङ्गी विरङ्गी र अनौठा पोशाक लगाएर जात्रा निकाल्ने गरिन्छ । यो पर्व नेपालमा विभिन्न किसिमले मनाइन्छ । मिलीमिली चोलो,जामा, पेरुङ्गे टोपी, माफ्लर, सेतो पटुका धाराण गरेका मानिसहरु साथमा बाजागाजा घन्काउँदै टोल सहर घुम्छन् ।


यस पर्वको आरम्भ कसरी भयो त ?
अनौठो भेष धाराण गरेर हाँसख्याल प्रर्दशन गर्ने, उट्पट्याङ् गर्दै हसाउँदै, विचित्र रुपमा मनाइने यो पर्व नेपालको मौलिक पर्व हो । गाईजात्राको सुरुवात हुँदा सबै जना मृत्युको देवता यमराजको डरले पुजा गर्थे । जाईजात्रा राजा प्रताप मल्लको पालादेखि चलिआएको प्रथा हो । इतिहास अनुसार वि.सं. १६९८ मा  १८ वर्षीय युवराज, प्रताप मल्ल कान्तिपुर राज्यका राजा भएका थिए । यसरी राजा भएका प्रताप मल्लका दुई रानीहरुबाट पाँचवटा सन्तान थिए । परम्पराअनुसार राजाको मृत्युपछि जेठो छोराले मात्र शासन गर्ने अवसर पाइन्थ्यो । तर राजा प्रताप मल्लले आफ्नो हरेक सन्तानलाई एक एक वर्ष राज्य सञ्चालन गर्ने अवसर दिने निर्णय गरे । एक चोटी उनको दोस्रो सन्तान, राजकुमार चक्रवर्तेन्द्रको शासन गर्ने पालो आयो । चक्रवरतेन्द्रको राज सुरु भएको भोलिपल्ट उत्सवको आयोजना गरियो, जसमा चक्रवरतेन्द्र विशाल हात्ती चढेर आए । तर हात्ती अनियन्त्रित हुन पुग्यो र चक्रवरतेन्द्रको त्यही दिन मृत्यु भयो । यस घटना पछि रानी शोकबाट निस्कन सकिनन् । यो देखेर राजा प्रताप मल्लले आफ्ना जनतालाई रङ्गीविरङ्गी पोशाक लगाइ एउटा गाई लिएर जात्रा निकाल्न आदेश दिए , र धेरै जना आए पनि । यसरी राजा प्रतापले आफ्नी रानीलाई केवल उनको छोराको मात्र मृत्यु भएको होइन, हरेक परिवारमा मानिसको मृत्यु हुने गर्दछ भन्ने सत्य बुझाए । अन्त्यमा ती अनौठा पोशाक लगाएका मानिसहरुलाई देखेर रानीले पनि आफ्नो मुस्कान छोडिन् ।त्यस दिनदेखि हरेक वर्ष त्यही तिथिमा मानिसहरुले गाईजात्रा मनाउन थाले ।
गाईजात्रा किन र कसरी मनाइन्छ ?
गाईको सिङले यमलोकको ढोका खोल्दछ र मृत व्यक्तिको आत्मा त्यसभित्र प्रवेश गर्न पाउँछ भन्ने लोक धाराणा रहेको छ । गाईजात्रा उत्साह र उत्सुकताका साथ भाद्र महिनामा जनै पूर्णिमाको भोलिपल्ट भाद्र शुक्ल परेवाको दिनदेखि आठ दिनसम्म मनाइने गरिन्छ । मानिसहरु यस पर्वमा हरेक वर्ष जसको गत वर्ष अवधिमा कुनै आफन्तको मृत्यु भएको छ , उनीहरुको सम्झनामा एउटा गाई र जोगीलाई लिएर सडकमा आफ्ना पितृको स्मृति गर्दै प्रदर्शन गर्दछन् । जोगी चाहीँ कुनै जवान केटालाई बनाउने चलन छ । गाईलाई हिन्दु धर्ममा धेरै पवित्र मानिन्छ  र मृतकलाई स्वर्ग पठाउन गाईले सहयोग गर्छ भन्ने गरिएको छ । गाइजात्रा नेपालको लोकप्रिय उत्सव हो, जसले परिवारको कोही सदस्यको मृत्युबाट दुःख हटाउन, मृत्युको वास्तविकता स्वीकार गर्न परिवारका मानिसहरुलाई हौसला दिन्छ । यो पर्वले थोरै भएपनि दुःख कम गर्छ र देखाउँछ  कि हामी एक्लै छैनौँ जसले आफ्नो परिवारको सदस्य गुमाएका छौँ ।
नेपालभर मनाइने यो पर्व मूलरुपमा उपत्यकाका तीन जिल्लामा मनाइने गरिन्छ । जस मध्ये भक्तपुरको गाईजात्रा अझै लोकप्रिय मानिन्छ । पञ्चेवाजाको धुनसँग तालमा ताल मिलाएर लौरोको नाच पनि प्रदर्शन गर्ने गरिन्छ । गाईजात्राको उपलक्ष्यमा काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा पनि दिँदै आएको छ । यो पर्वले अन्तराष्ट्रिय स्तरमा पनि नेपाली संस्कृतिको  सकारात्मक प्रचार गर्ने काम गरेको छ । यसले मृतकको र मृतकका आफन्तको पनि मनमा शान्ति पुर्याउने काम गर्दछ । हालका दिनहरुमा यस पर्वलाई वाक् स्वतन्त्रताको रुपमा पनि प्रयोग गरिएको पाइन्छ ।