
रमेशचन्द्र घिमिरे
पानी है पर् यो रिमी र झिमी रुझायो झरीले
के गरी बस्छन् के गरी खान्छन् गुँडका चरीले
चल्लाका माउ पाएनन् उड्न चाराको खोजीमा
मान्छेको जस्तो छ छैन होला दाम पैसा गोजीमा
मायालु स्वरमा रोएर भन्छ सानो भाइ हरिले
के गरी बस्छन् के गरी खान्छन् गुँडका चरीले
आकाश पनि अँधेरो त्यस्तै मन त्यस्तै अँधेरो
पाइएन देख्न उज्यालो आकाश, खोलो र पँधेरो
बिलौना यिनको सुने नि हुन्थ्यो अप्सरा परीले
के गरी बस्छन् के गरी खान्छन् गुँडका चरीले
बाँच्नलाई कष्ट सहनै पर्छ क्यै फरक पर्दैन
उसैले आपत् पाउँछ जस्ले सङ्घर्ष गर्दैन
यसो पो भन्छिन् सम्झाउँदै मलाई ठुल्दिदी सरीले
सङ्घर्ष गर्न सिक्छन् र खान्छन् गुँडका चरीले ।
श्रोतः नेपाली बाल साहित्य





