
मुरारीराज मिश्र
कुमारीगाल,काठमाडौं-७
दुई साथीका बिच कुराकानी चलिरहेको थियोे।
“तिमीले त्यतिका सहयोग गरेका छाै तर त्यसबारे कतै भन्दैनाै! अरूहरू भने आफूले गरेकाे सहयाेगलाई बढाइचढाइ गरेर प्रचार गर्छन्। के तिमीलाई अरूले आफ्नो प्रशंसा गरून् भन्ने लाग्दैन?” एउटाले साेध्याे।
“मैले आफ्नो कर्तव्य पूरा गरेको छु, जसबाट मलाई पूर्ण सन्तुष्टि मिलेको छ। अब घमण्ड र आत्मप्रशंसा चाहिँ किन गर्नुपर्याे र?” अर्कोले जवाफ दियो।
“सहयोगकाे बारेमा अरूले पनि थाहा पाउँदा राम्रै हुन्छ नि त। आजकलकाे जमानामा प्रचारप्रसार नै समाजमा चिनिने माध्यम हाे क्या साथी!” पहिलाेले आफ्नो कुरालाई अझै जाेड दिएर भन्यो।
“हेर, यस कुरालाई तिमी यसरी बुझ। एउटा घरलाई छत, झ्यालढाेका र जग सबैले गुन लगाएका हुन्छन्। फरक यत्ति हाे कि, छत र झ्यालढाेकाले त्यो गुन देखाउँछन् तर जगले लुकाउँछ।” अर्कोले गम्भीरतापूर्वक जवाफ फर्कायाे।





