
उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका दूधे झापा
चारैतिरबाट शुभकामनाका फोन आइरहे । मोबाइलले पनि सन्देश आएको जानकारी दिन घण्टी बजाउँदै गर्यो । कोही कोही घरैमा आएर गुरुको दर्शन गरे , शुभकामना दिए, मेवामिष्ठान्न चढाए ।
गुरु प्रसन्न मुद्रामा जता जताबाट शुभकामना आउँदै थिए त्यता त्यता धन्यवाद आशिर्वाद प्रदान गर्दै थिए ।
गुरुलाई शंकरको फोन आयो । उसले प्रणाम गर्यो , सन्च विसन्च सोध्यो र शुभकामना दियो । उसले आफ्नो शुभ समाचार गुरुलाई सुनाउँदै भन्यो – ” गुरु हजुरको आशिर्वाद र मार्गदर्शनले मेरो फेरि बढुवा भयो, म सचिव भएँ ।”
गुरु फोन राखेर भान्सामा गए र श्रीमतीलाई भने – ” आज मलाई ठुलो खुसी प्राप्त भएको छ यस खुसीले अघाएर खाना पनि थोरै रुच्छ होला है याद गर ।”
“के को खुसी प्राप्त गर्नु भयो त्यस्तो ?”
प्रत्युत्तरमा गुरुले भने -” मेरो अनुशासित र मेधावी शिष्य शंकर हिजै मात्र बढुवा भएर सचिव भएछ।”
“ए त्यस्तो खुसी पो!”
गुरुले उत्साहित हुँदै भने – “हो, एउटा गुरु आफ्नो शिष्यको सफलतामा जति खुसी हुन्छ अरू केहीमा हुँदैन।”





