“गुरु मान गर”


रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी

गुरूहरू सडकमा बालक छाैँ घर
नयाँ वर्ष नयाँ कक्षा भयाे पर पर।
नतिजाको टुङ्गो छैन कैले हुने हाेला
कैले जाने पाठशाला बाेेकी नयाँ झाेला?
भर्ना भई पाठशाला जाने बेला सम्म
भाेटे ताल्चा लाएको छ जतासुकै टम्म।
समयमा पढ्ने लेख्ने हाम्राे अधिकार
कैले सम्म दिलाउँछाै भन सरकार?
उता भने बाेर्डिङले सुरू गरे कक्षा
सरकारी स्कुल कैले गर्छ प्रतिरक्षा?
जाँचिएला कैले सम्म एस् इ इ का कापी
कैले हाेला जाँच बाह्र भन मेरा साथी?
सरकारी गुरूहरू सरकारै सँग दुःखी
हुँदा हामी पनि भएका छाैँ दङ्ग।
गुरु चित्त दुखाउने सरकार कस्तो
नबनाए हुन्थ्यो हाेला गुरु शब्द सस्तो!
कति दिन गुरूलाई सडकमा राखी
राम हेरी कति बस्छाै नेता कुर्सी माथि?
के नै ठूला मागहरू राखेका छन् गुरु
कुरा के हाे बुझ्नलाई गर वार्ता सुरू?
एक थान शिक्षा ऐन देऊ भन्दा खेरि
सरकार वर्षाैँदेखि के छ हेर्या हेरी?
दिनै पर्ने शिक्षा ऐन दिए हुन्थ्याे छिटो
ढिलासुस्ती गर्दा शिक्षा भयाे धुलाेपिठाे।
हठ छाेड सरकार छाेड गुरु जिद्दी
एकै ठाउँ बसी कुरा हुने गर सिद्धि।
शिक्षा अस्तव्यस्त हुँदा देशै भयाे ध्वस्त
शिक्षा माथि उठाउने गर बन्दाेबस्त।
युवा शक्ति विदेशिदा कस्काे भलाे हुन्छ
भविष्य नै छैन यहाँ भन्दा मन रून्छ।
गरी खाने शिक्षा देऊ गुरु मान गर
उपयुक्त शिक्षा नीति सर्कारकै भर।