“गोप्य कुरा”

खगेन्द्र बस्याल
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही

चमेलीले भाँडा माझ्न आउँदा उजेलीको छोराको लागि दैनिक एउटा अण्डा ल्याउने गर्दथी।
उजेली दम्पतीले आफ्नो सन्तान नभएकोले अस्पताल नजिक झाडीमा फेला पारेको त्यो बालकलाई ल्याइ छोरा बनाइ पालेका थिए।


त्यो बच्चालाई चमेलीले निकै बेर सम्म तेल लगाइ माड्नमा पनि सघाउँथी।
महिना दिन पुगेपछि उजेलीले चमेलीलाई पाँच हजार दिई।
चमेलीले भनी “किन यतिधेरै।हाम्रो कवोल त तीन हजार मात्रै हो नि। यो भन्दा बढी एक पैसा पनि लिन्न।”
उजेलीले भनी” तिमीले दैनिक ल्याएको एउटा अण्डा र बच्चाको थप स्याहारसुसार वापतको हो ।”
उसले भनी “मैले आफ्नै बालक ठानेर त्यसो गरेकी हुँ। यसैले थप त्यो रकम मेरो लिन आत्माले मान्दैन ।
उनलेे सोधिन् ” त्यसको पनि कुनै कारण होला नि!”
उसले भनी” छ,तर भन्न मिल्दैन ।”
उनले भनिन् ” तिम्रो म बाहेक यो संसारमा मनको पीडा पोख्ने ठाउँ कहाँ नै छ र!, पीडा पोखेर हलुङ्गो हुन सकिन्छ । मैले कतै पनि भन्दिनँ ,ढुक्क होउ।”
उसले आँसु झार्दै भनी” बाबू पत्ता लगाउन नसकेपछि मैले नै अस्पताल अगाडिको झ्याङमा फालेर कोही मार्फत निगरानी गरिरहेकी थिएँ। तपाईँहरुले यसको जीवन दिनु भयो । यो गोप्य कुरा तपाईँ बाहेक कसैलाई थाहा नहोस् है।”