

डा छायादत्त न्यौपाने
असार आयो पानी है पर्याे किसान बिउँझायाे
हलाे र जुवा काँधमा बाेक्याे हलगाेरु कुदायाे
छुपुमा छुपु धान है राेपे दबदबे हिलोमा
माना र पाथी मुरी हाे ल्याउने फलाई खेतमा
सान्दाइ लागे खेताला खाेज्न गामबेसी जुटाए
अर्म र पर्म चलाई माटो उर्वर बनाए
व्याडेदाइ कसे कम्मर यहीँ अवसर चिनेर
राेपार बाउसे हलीदाइ जुटे हलगाेरु नारेर
लगाई बाली श्रमका दान भकारी भर्नलाई
यैं श्रम गरी यै ठाउँ घुमी उज्यालो छर्नलाई
उठेका हामी छिमेकी सारा सिर्जन कर्ममा
चलाई कुलाे बढाई खेती बस्नु छ हर्षमा
बगैंचा साझा नेपाली हामी पौरख बढाई
यै बाँझो खन्छौं गौरव गर्छौं शिर याे उठाई।




