ग्रीन चरी

केशवराज आमोदी
सुखौरा , तनहूँ
हाल : रत्ननगर चितवन

अस्र्ट्रेलिया , गोल्डकोस्टको बोटानिक गार्डेन हुँदै मैले नातिलाई स्कूल लिएर जाने र छुट्टी भएपछि लिएर आउने केही दिनदेखि गरिरहेको थिएँ । मेरो अङ्ग्रेजी लाहुरे तालको भएकोले म नातिसँग सिक्दै पनि थिएँ । देवताले राज गरेको स्वर्गजस्तो स्वच्छ , समुन्नत र सभ्य धर्तीमा हिड्दै गर्दा आफू जन्मेको , हुर्केको र जीवनका उर्बर समय बिताएको पशुपतिनाथले रक्षित देशको स्वाभिमानी नागरिक हुँ कि होइन ऐले आफैं संशयमा छु ।व्याप्त छ समाजभरि स्खलित राजनीतिको मृगतृष्णा आफ्नो धर्ती भनेर के गर्नु ? स्वार्थको बादलले ढाकेको छ वातावरण । भँडखाला छन् उत्तिकै लोभ र दम्भका हर कुइनेटामा । लोकतन्त्रको फूलबारिभरि पैताला-पैतालामा परतन्त्रताका बारुद बिच्छ्याइएका छन् । दीक्षित तुल्याउनु छ यही माहौलमा आजका कलिला नाति-नातिनाहरूलाई । गलेको छ उमेरले शरीर र थपिदे छ यही शरीरको थाप्लोमा बालबालिकाको सुन्दर भविष्यको भारी । थिलिदो छ उमेरले गलेको बुढो इच्छाको शरीर । नाति-नातिनालाई पुर्याउनु छ सगरमाथाको उचाइमा । गलेर फाट्दै गरेको पुरानो कोटजस्तो सङ्घीय राज्यमा स्वर्णिम भविष्यको धरहरा उभायाउनु पनि कसरी खै ?’
कारको सुविधाले आकर्षित गर्दैन हिड्न पाएसम्म मलाई ।म नातिबाट डोरिएको छु कि मबाट नाति डोरिएको छ ? दोधार-दोधामा रहदै गर्दा अस्ट्रेलियन लवजमा नारीको आवाज गुन्जिन्छ-
‘गुडमोर्निङ …! , आई लभ यु …!!’
म आफ्ना दृष्टिहरू यताउति मिल्काउँछु देख्दिन कतै कुइरेनी महिलाहरु तैपनि उनीहरूकै लवजमा फेरि आवाज गुन्जन्छ-‘आई लभ यु …! , गुडमोर्निङ जेन्टलम्यान ..! गुडमोर्निङ …!!’
म उमेरले जर्जर भएको मान्छेसँग कुन कुइरेनीले पिरती-प्रस्ताव राख्न आँटी छ ? मनमा एकप्रकारको कुरो बतासिंदै गर्दा श्रवणेन्द्रियमा आएको शिथिलता हो कि भनेर नातिसँग सोद्धछु । गुडमोर्निङको आकाश-वाणी कहाँबाट भइरहेछ ? नाति हाँसेर ऊ त्यो घरको बार्दलीको ग्रीन चरीको आवाज त हो नि !’ भन्दछ र म दङ्ग परेर गोल्डकोस्ट की परी अर्थात् ग्रीनचरीतिर हेर्छु , बल्ल पो थाहा पाउँछु त्यो त नेपालमा ‘कृष्ण-कौ’ भन्ने उही ‘सुगा’ पो रहेछ ।