घोर्ली बाख्रो


श्रीबाबु कार्की

यसपालि त घोर्ली बाख्रीले जोर पाठा पाउँछे । आँगनमा खेल्दै जोलीले आफ्नो दाइलाई भनी । -“ह्या छोड ! जतिवटा पाठा पाए पनि ती पाठा मेरा हुन्छन।”
जोलीको दाइ जीवनले भन्यो।
जोली र जीवनको सधैँ पाठा कस्को हुने भन्ने विषयमा झगडा हुन्थ्यो । जोली घोर्लीको पाठा मेरो हुन्छन भन्थी। जीवन पनि घोर्लीको पाठा मेरा हुन्छन भनेर जिद्दी गर्थ्यो । दुबै दाजु बहिनी पाठासँग खेल्न हुरुक्कै हुन्थे ।
घोर्लीले पाठा पाउने समय नजिकिदै थियो । जोली र जीवन पनि पाठा कस्को हुने विवादले चर्कोरुप लिन थालिसकेको थियो।
एकदिन आमा आँगनमा चामल निफनी रहनु भएको थियो । आमाले घोर्ली बाख्रा बानेको नजिकै आफ्ना छोराछोरी झगडा गरिरहेकको देख्नु भयो।
जीवन भन्थ्यो – “हेर, जोली घोर्ली बाख्रीले जे पाए पनि मेरो हुन्छ।”
जोली पनि के कम थिइ र ऊ झन उफ्रि-उफ्रि जीवनलाई भन्थी – “हेर, जीवन ! घोर्लीले जे पाए पनि मेरो हुन्छ।”
ऊनीहरूको यही विवाद चर्को चर्को हुँदै गइरहेको थियो । विवाद बढ्दै गएपछि आमाले दुबै छोराछोरीलाई कराउनु भयो।  “हैन, यिनीहरू किन आपसमा झगडा गर्छन् । के भो तिमीहरूलाई ?” आमाले हप्काउँदै प्रश्न गर्नुभयो।
“सधैँ मिलेर खेल्नु भनेको होइन, कति कुकुर र बिरालो जस्तै झगडा गरेका ?” आमाले राँकिदै भन्नुभयो । आमाको यो कुरा सुनेर जोली हतार हतार आँगनमा आएर आमालाई दाजुको कुरा लगाउन थाली।
“हेर्नुस् न आमा, यो जीवन त घोर्ली बाख्रीले जे पाए पनि मेरो हुन्छ भन्छ । मलाई त नदिने भन्छ ।” जीवन पनि के कम । ऊ पनि दौडिँदै आँगनमा आएर आमालाई बहिनीको पोल लगाउन थाल्यो – “आमा ! आमा !! बहिनी त घोर्ली बाख्रीले पाएको पाठा मेरो हुन्छ भनेर जिद्दी गर्छे, तँलाई छुनै दिन्न भन्छे।”
दुबैले एकअर्काको पोल आमालाई लगाए । एउटा बाख्रोका लागि आफ्ना छोराछोरी झगडा गरेको देखेर आमालाई दु:ख लाग्यो । उहाँले केहीबेर सोच्नुभयो ।
“ल दुबैजना यता आओ । आमाले दुबै छोराछोरीलाई नजिकै बोलाउनु भयो । – “हेर, घोर्ली बाख्री हाम्रो सम्पत्ति हो। यो बाख्रीले जे पाँउछ तिमीहरू कै त हो नी ! ल, सुन घोर्लीले यसपटक दुईवटा पाठा पाउँछ जस्तो छ । यसको पेट पनि निक्कै ठूलो छ ।”
आमाले पुनः सम्झाउनु भयो -” दुईवटा पायो भने जोलीलाई एउटा । जीवनलाई एउटा, हुन्न ? अब आजदेखि दाजुबहिनी झगडा नगर्ने – हुन्छ ? “आमाले दुबैलाई सम्झाउँदै भन्नुभयो।
दुबैले आमाको कुरामा सहमति गरे।
आमाले फ़ेरि भन्नुभयो। – “एउटा मात्रै पायो भनेचाहिँ दुबैले मिलेर हुर्काउने है ! तेरोमेरो भन्न पाँइदैन नी ।” आमाले फकाउनु भयो।
जीवन र जेलीले एकै स्वरमा ‘हुन्छ’ भने।
आमाले जीवन र जेलीलाई एउटा सर्त पनि राख्नुभयो।
“हेर, पाठाे मेरो र तेरो मात्रै भनेर हुँदैन । पाठालाई त केही समयपछि आमाको दूधले मात्रै पुग्दैन । घाँस र दाना दिनुपर्छ । माया गरेर मात्रै पाठा कहाँ हुर्किन्छ र ?” आमाले दुबैलाई प्रश्न गर्नुभयो।- “अनि के गर्नुपर्छ त आमा पाठा-पाठी हुर्काउन ?” जोलीले प्रश्न गरिन।
आमाले भन्नुभयो-“घाँस काट्नु पर्छ, दाना पानी खुवाउनु पर्छ। पढाइको साथै घरमा आमा-बाबालाई सहयोग गर्नुपर्छ।”
जीवन र जोली दुबैले एउटै स्वरमा भने- “हामी पनि आजैदेखि घाँस काट्छौँ । घोर्लीले पाएका पाठालाई दाना-पानी खुवाउँछौँ हुन्न त आमा ?”
आमाले पनि खुसी हुँदै भन्नुभयो -” स्यावास ! मैले त्यही खोजेको । अबदेखि दाजुबहिनी झगडा पनि नगर्ने हुन्छ ?”
जीवन र जोली अघि भर्खरै झगडा विर्सिएर भन्नथाले -” हुन्छ आमा ! अबदेखि हामी सधैं मिलेर काम गर्छौं । तत्कालै जोलीले दाजुसँग एउटा प्रस्ताव राखी – “जीवन दादा अबदेखि हामी घोर्लीको पाठा मेरो र तेरो भनेर कहिल्यै झगडा नगर्ने है ?”
केही दिनपछि घोर्ली बाख्रीले दुईवटा पाठा पाई । दुबै पाठा आकर्षक र राम्रा थिए।
जेली र जीवन स्कुल गएका थिए । उनीहरू स्कुलबाट आएपछि घोर्लीको पाठा देखेर धेरै रमाए । जेली त यो खुसीमा खाजा नै नखाई उफ्रिदै नाच्न थाली -“या…. हु…! या… हु…! अब त हाम्रो पनि खेल्ने साथी भए।”
आमाले जीवन र जोलीलाई भनुभयो -” ल आजबाट यी दुबै पाठा हुर्काउने काम तिमीहरूको भयो । अलि ठूला भएपछि घाँस र दानापानी पनि खुवाउनु पर्छ।”
जीवन र जेलीका बाबाले पनि उनीहरूलाई सम्झाउँदै भन्नुभयो – “ल तिमीहरू स्कुलबाट आएपछि यी पाठाहरुसँग खेल्ने । तर एउटा कुरा मैले भनेको मान्नुपर्छ है ।” बाबाले सर्त राख्नुभयो ।
के सर्त हो बाबा ? जीवनले कौतुहल देखाउँदै बाबालाई प्रश्न सोध्यो।
“ल आजदेखि स्कुलमा होमवर्क नसक्नेले यी पाठासँग खेल्न पनि पाँउदैन । जसले होमवर्क सक्छ उसले मात्रै पाठाहरूसँग खेल्न पाउँछ ।” बाबाले भन्नुभयो।
जेलीले बाबाको सर्त पुरा गर्ने बाचा गरी । जीवनले पनि आफुले होमवर्क सकेर मात्रै पाठहरूसँग खेल्ने वचन दियो।
उनीहरू स्कुलबाट आएपछि होमवर्क सकेर मात्रै पाठाहरूसँग खेल्थे । आमा-बाबासँगै पाठाहरूलाई कलिलो-कलिलो घाँस खोज्न जान्थे । उनीहरूले दिएको घाँस खाएर दुबै पाठा निरोगी र बलिया थिए।
घोर्लीले पाठाहरू पाएपछि जीवन र जोलीको कहिल्यै झगडा भएन । आमा-बाबाको यो उपायबाट उनीहरूले झगडा गर्न मात्रै छोडेनन । स्कुलको पढाइमा समेत राम्रो गर्दै गए । आफ्नो उपायले काम गरेकोमा आमाबाबा दुबैजना छोराछोरीसँग खुसी हुनुभयो ।- अहिले स्कुलमा पनि जीवन र जोली राम्रो पढ्ने विद्यार्थी भएकाछन । यस कुराले स्कुलका सबै शिक्षक शिक्षिका उनीहरूसँग खुसी छन।
घरमा पनि जीवन र जोलीले बाबाआमालाई धेरै कुरामा सघाएका छ्न । बाबा आमा भन्नुहुन्छ – ” जैलेदेखि घोर्ली बाख्रोले पाठा पायो । त्यसदिनबाट हाम्रो घरमा शान्ति भयो।”