चुनौती


अम्बिका धिताल
कमलविनायक भक्तपुर

“आजभोलि निकै राम्रो हुँदै गएको छ ।” पछिल्लो समयमा विद्यालयमा आउँदा शिक्षकहरूले भन्नुभएको यो कुरामा सीता निकै प्रफुल्ल थिइन्।
परीक्षाफल प्रकाशनको दिन छोरालाईसँगै विद्यालय लिएर जाँदा उनी त्यही कुरा सम्झँदै मख्ख परिन् । विद्यालयमा परीक्षा फल लिन आउनेको भिडभाड थियो। म्यामले भन्नुभयो, “तपाईं एकैछिन उता लेखा शाखामा गएर आउनुस् न है?”
“हवस् म्याम ।” सीता निर्देशित कक्षमा गइन्।
तिरोतारोको काम सकेपछि पुनः परीक्षाफल वितरण कक्षमा पुग्दा म्यामले भन्नुभयो, “ यसपालि परीक्षामा अलि बिगारेको छ बाबुले। सबैमा एनजी आएको छ । अर्को साल घरमा विशेष ख्याल गरिदिनु है दिदी।”
भर्खरै तिरेको पचास हजार, खाडी मुलुकमा श्रीमानको परिश्रम अनि म्यामको कुरा सुन्दा सीता छाँगाबाट खसेझैँ भइन्,  “अस्ति भर्खरै म आउँदा त बाबुको पढाइ निकै राम्रो भएको छ भन्नुभएको थियो त म्याम ?”
फाइल पल्टाउँदै म्याम बोल्नुभयो “हो , कक्षामा पनि पढ्थ्यो । गृहकार्य दिँदा सधैँ निकै राम्रो गरेर आउँथ्यो तर उसको परीक्षामा नलेख्ने बानी भयो। हामीलाई पनि यो कुरा चिन्ता चुनौतीको विषय बनेको छ।”
सीता छोरोपट्टि हेर्दै बोलिन्, “किन बाबु परीक्षामा नलेखेको ?”
छोरो मलिन स्वरमा बोल्यो,“परीक्षा हलमा मोबाइल ल्याउन दिनुहुन्न अनि कसरी च्याट जिपिटिलाई सोधेर लेख्नु त?”