
गणेश आत्रेय
मदनपोखरा,पाल्पा
चमक्क चैत चम्कियो फुलेर फूल फक्रिए;
पहार भीर कन्दरा बगान टार रङ्गिए।
हराभरा भए सबै लता र कुञ्ज कानन;
बहार बैँसको चल्यो सिँगारिएर आनन॥
चराचरी मिले रचे सुरम्य वास मङ्गल;
जुटेर जोर जन्तुका रमाइलो छ जङ्गल।
चुली चुलिन्छ चम्किदै बसेर फाँट हाँस्दछ;
बगी नदी र निर्झरी सरर्र ताल नाच्दछ॥
झरी र शीत छैन खै न पोल्छ घामले कतै;
हवा छ मन्द मीतझैँ मिठो सुसाउँदो यतै।
छ छाँट यो विचित्रको सुरम्य चैत्र चाँदनी;
रमाइलो हँसाइलो प्रभात रात पावनी॥
झुले फुले सुनाखरी गुराँस नाच्छ चाँचरी;
लुकेर प्रीत चित्तमा उमङ्ग भर्दछन् परी।
घुमी झुमी खुसी चुसी छ मात-मस्त माहुरी;
सँगी र सङ्गिनी मिली रजाइँ गर्छ न्याउरी॥
लता र कुञ्जमा लुकी’कुहूँ”कुहूँ”कहाँ”कहाँ’;
वसन्त डाक्दछे छिटो रमेर कोइली यहाँ।
समस्त जीवजन्तुमा खुसी उमङ्ग छर्दछ;
भरेर प्रीत प्राणमा विषाद चैत्र हर्दछ॥





