
गंगा खड्का
कहिले खुल्ने फरर
कहिले बन्द सपक्क
कहिले बोक्ने हातमा
कहिले राख्ने थपक्क।
घाम लागे ओढ्नलाई
हुने अति जाती
पानी परे काम लाग्ने
साँझ बिहान राति।
हिँड्न पनि सकिन्छ
लठ्ठी जस्तै टेकेर
मजा आउँछ थरीथरी
रुप यसको देखेर।
एक्लै हिँड्दा बनिदिन्छ
हित चिताउने मित्र
आकारप्रकार थरीथरी
उस्तै राम्रो चित्र।
गोठालोमा गाईवस्तु
धपाउन पाइन्छ
आजकाल त धेरै काममा
छाता हामीलाई चाहिन्छ।





