छोपिएको घाउ

अम्बिका धिताल,
कमलविनायक भक्तपुर

“तिमी त निकै खुसी देखिन्छौ, आज फेरि नयाँनयाँ लुगा पनि लगाएर कता जान आँट्यौ राम ?” दुध किन्दै गरेको रामलाई हरिले सोध्यो । “थाहा छैन तिमाीलाई ? आज त हाम्रो दिन हो रे ! हाम्रो मालिकले मलाई पाँचसय बकस पनि दिनुभएको छ ।” रामले मुहारभरि खुसीका रङ्गहरू फुलाउँदै उत्तर दियो। निरास भएको हरिले भन्यो, “खै  यार आफ्नो त मालिकमालिक्नी दश दिनका लागि बाहिर जानुभएको छ । आजको दिन के हो ? भोलि के हो  केही थाहा छैन। मालिकहरू घरमा हुँदा झनै गाह्रो हुन्छ ।” “साँच्चै हरि अरु गाडीमा चढेर स्कुल गएको देख्दा पनि कस्तोकस्तो पो लाग्छ । किन हामीचाहिँ यति गरिबको कोखमा जन्मिएका है ?” रामले प्रश्न गर्यो । “बरू तिमीले त राम्रै घर पाएका छौ । तिमीलाई  पनि दिक्क लागेको भए जाऔँ हामी मालिकको घर छोडेर । एक पेट खानको लागि दिनको पाँचसात लात खानुपर्छ अनि गाली त कति हो कति ।” हरिले आँखा रसिलो बनाउँदै भन्यो । “कता जाने हरि ? साथमा एक पैसा नभएका हामी घर छोडेर हिँडेर पो के गर्ने ? अब अरूको गोडा मोलेरै भएपनि त बाँच्नै पर्यो ।”  रामको कुरा सुन्दै हरि बोल्यो ,  “ हेर त राम मेरो गोडामा यो लेप लगाएको एक महिना भयो । अस्पताल जाँदा अरूले थाहा पाउँछन् भनेर घरमा नै मालिकले लगाइदिएका ।” रामले सोध्यो, ओहो! के थाहा पाउँछन् भनेर अझै पनि यति निलो छ अनि सुन्डिएको पनि छ त !”  “उही त हो राम अरूको घरमा बस्नुको पीडा कसैलाई भन्यो भने झनै डर ।” हरिले आखाँबाट आँसु बगाउँदै भन्यो । राम बोल्यो, ”हामी अरुको घरमा बस्ने केटाकेटीको  कथा उस्तै हुँदो रहेछ हेर त मेरो टाउकामा घाउ । धन्न एउटा अङ्कलले अस्ति भोजमा क्याप छोड्नुभएको रहेछ  र घाउ छोप्न भयो । हरिले भन्यो, “ए ! तिमी पनि सिकार भयौ?”  हरिले यथार्थ ओकल्यो, ”म त यो घरमा पसेकै दिन देखि यस्तै हो । बोलौँ मार्ने धम्की दिन्छन् । नबोलौँ गर्नै नहुने काम गर्नुपर्दछ, हामीले यो घाउलाई कतिन्जेल छोपेर बाँच्ने ?”