जाडोमा रैथाने ज्ञान ?


डा अरुणा उप्रेती

जाडो बेलामा शरीरमा बढी ऊर्जा दिने खानेकुरा खाने गर्नुपर्छ ।
गहुँ, चामल तथा दाल, तरकारी खानुपर्छ / तातो खानेकुरा खाने गर्नुपर्छ ।
विशेष गरी बच्चाहरु र बुढाबुढीहरुलाई जाडोले तातो खानेकुरा र लुगा पनि न्यानो, तातो लगाउने गर्नुपर्छ।तराईमा शीतलहरले मान्छेको ज्यान जाने नभइ व्यवस्थापन गर्न नसक्दा मान्छेको ज्यान जाने हाे । भान्सामा भएका तातो खानेकुरा खाने र न्यानो लुगा लगाइदिने कुरामा विशेष ध्यान दिनुपर्छ ।
टाउको र खुट्टाबाट चिसो चाँडो छिर्ने हुनाले हाम्रो हजुरबा, हजुरआमाले पहिलेदेखि नै “टाउको र खुट्टा तातो “बनाउनु पर्छ भन्ने गर्नुभएको हो ।टाउको र खुट्टालाई चिसोबाट राम्रोसँग जोगाउनु पर्छ ।
विशेष गरी कोदोको सुप, फापरको सुप, गुन्द्रुक, भटमास, आलुको सुप जस्तो तातो झोलिलो तथा दाल, भात, तरकारी र रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता भएका भिटामिन ‘सी’ युक्त खानेकुरा खाने गर्नुपर्छ । यसमा कागती, अमला, गुन्द्रुक जस्ता खानेकुरा घरमै उपलब्ध हुन्छ ।
गहत ऊर्जायुक्त, पोषणयुक्त तथा विभिन्न सुक्ष्म पोषक तत्त्वयुक्त हुन्छ यसको दाल बनाएर खाँदा हाम्रो खर्च पनि धेरै नहुने र जाडोमा धेरै नै फाइदा हुन्छ ।
हामीले पहिलेदेखि हेपेर” जात फाल्नु गहतको झोलमा” भनेर गहतलाई निकृष्ट खानेकुरा बनाएका छौँ। तर, गहतलाई पिसेर सुप बनाएर खान सकिन्छ, । जुनसुकै खाद्य वस्तुमा मिलाएर खाए पनि गहतले फाइदा गर्छ । गहतलाई विशेष खानेकुरा अर्थात सुपर फुड पनि भन्ने गर्छौँ ।
अर्को कुरा जाडो मौसममा चिसो नलागोस् भनेर घरभित्र दाउरा, मकल, ग्याँस बालेर बस्दा हावा आउने–जाने ठाउँ नहुँदा समस्या पर्न सक्ने भाकोले सजग रहे बेस ।
जाडोमा हामीले घरकै तातो खानेकुरा जस्तै तातो दूध, कागती र मह हालेको चिया, दही, अमिलो मोही छ भने त्यसमा बेसन हालेर कडीको सुप बनाएर खान सकिन्छ । हामीसँग सहजै सस्तो रुपमा उपलब्ध हुने यति धेरै खानेकुरा छन् जुन बालबालिका, वृद्धवृद्धलाई खान दिँदा स्वास्थ्यमा धेरै नै फाइदा हुने गर्छ ।
दाल, दूध, आलु, हरियो सागसब्जी जेसुकैको पनि तातो झोलिलो सुप _ शरीरलाई भित्रबाट न्यानो बनाउने मात्र नभइ रोगसँग लड्ने क्षमता पनि दिन्छ ।
यति धेरै खानेकुरा छन् भन्दैमा गरिबसँग नहुन सक्छ त्यस्तालाई स्थानीय सरकारले व्यवस्था गर्ने गर्नुपर्छ । तराईमा आगो ताप्नका लागि दाउरा दिने, घुर बाल्ने व्यवस्था गर्ने, न्यानो कपडाहरु दिने गर्नुपर्छ । यस्तो व्यवस्था जाडो हुनु अगावै गर्नुपर्छ नत्र पछि दिन्छु भन्दा चिसोले वृद्ध तथा बालबालिका बिरामी हुने तथा मृत्यु नै हुने पनि हुन्छ ।
पुष, माघमा चिसो हुन्छ भन्ने हाम्रा स्थानीय सरकारलाई थाहा छ । तराईमा शीतलहर हुन्छ भन्ने थाहा छ । शीतलहरले मान्छे मर्ने होइन गरिबीले मर्ने हो ।
गरिबका लागि आय आर्जनको लामो कार्यक्रम होला तर, तत्कालका लागि चाहिने अत्यावश्यक वस्तुको व्यवस्थामा भने स्थानीय सरकारले ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
घरका आमा, श्रीमती, महिला दिदी–बहिनी बिरामी नपरुन् भन्नका लागि पनि पुरुषले घरमा भाँडा माझ्ने, तरकारी किनेर ल्याउने, केलाउने आदि गरेर सघाउन सक्छन् । बालबालिकालाई खाना खुवाइदिने, स्याहारसुसार गर्ने काममा सघाउँदा महिलाको काम आधा हुनजान्छ महिलाको स्वास्थ्य पनि सुरक्षित हुनजान्छ ।
सिमेन्ट लगाएको भान्सामा कतिपय महिलाले जुत्ता नलगाइ काम गर्दा बिरामी हुनसक्छन् । त्यसैले भान्सामा लगाउने जुत्ता लगाउने गर्नुपर्छ ।
बच्चाहरुको पनि हातखुट्टा तथा गाला, ओठ फुट्दा घरमा भएको चिल्लो पदार्थ लगाउने गर्नुपर्छ ।
तोरीको अथवा नरिवलको तेल तातो बनाएर बच्चाहरुलाई लगाइ दिन सकिन्छ ।
वृद्धवृद्धालाई पनि जाडोमा तोरीको तेल तातो बनाएर मसाज गर्न सकिन्छ । तोरीको तेलले नेपालीलाई एलर्जी हुन्छ भन्ने चाहिँ होइन । एकलाखमा एक जना हुनसक्ला त्यस्तो अवस्थामा अरु चिल्लो पदार्थ प्रयोग गर्न सकिन्छ ।
तोरीको तेलले हातखुट्टा मसाज गर्दा त्यसले रक्त सञ्चार राम्रोसँग हुन्छ । जसले ऊर्जाका साथै न्यानो पनि हुने गर्छ । सुतीको टोपी तथा मोजा लगाइदिँदा पनि जोगाउन धेरै नै मद्दत गर्छ ।