जिम्मेवारी


नन्दलाल आचार्य

” विद्यार्थीको असफलता मेरो शिक्षणको कमजोरी हो।” गुरुदेवको स्वरले कक्षाकोठा गुञ्जायमान बनायो।
गाउँको विद्यालयमा नयाँ शिक्षक भएर आएका गुरुदेवको ध्यान सबैभन्दा कमजोर विद्यार्थी, राममा गयो। रामप्रति अरू शिक्षकको धारणा नकारात्मक थियो। “उसको कुनै भविष्य छैन।” उनीहरू भन्थे। तर गुरुदेवले भिन्न दृष्टिकोण राखे।
“राम, तिमी भित्र मौलिक विशेषता छ ।” उनले भने । “अब हामी त्यसलाई बाहिर ल्याउनेछौँ ।” गुरुदेवले पाठलाई सिर्जनात्मक र प्रयोगात्मक तरिकाले सिकाउन थाले । खेलकुद, कला र प्रयोगहरूले रामलाई पढाइप्रति आकर्षित गरायो।
केही महिनामै रामले कक्षामा उत्कृष्ट प्रदर्शन गर्न थाल्यो। अन्ततः परीक्षामा राम प्रथम भयो।
हेडमास्टरले प्रशंसा गर्दै भने, “तपाईँको शिक्षणले विद्यालयलाई नयाँ मार्ग देखायो।”
गुरुदेवले मुस्कुराउँदै भने, “जब शिक्षकले जिम्मेवारीलाई प्रकाशजस्तै लिन्छ, विद्यार्थीको भविष्य उज्यालो हुन्छ।”