केशवराज अधिकारी
जङ्गलको पातको
कसरी हो कसरी।
बनाउनु भो आमाले
ज्यादै राम्रो टपरी।
टुक्रा टुक्रा बाँसका
ल्याउनु भयो चिनेर।
बने सिन्का मसिना
खुर्लुङ्गेले चिरेर।
भन्नुहुन्छ आमाले
टपरीलाई ठहर।
मलाई पनि टपरी
सिलाउने छ रहर।
पात सिन्का समाएँ
टपरी त बनाए।
त्यत्ती राम्रो भएन
तर पनि रमाएँ।
कतै कतै भन्छन् रे
टपरीलाई पतरी।
जस्ले जे जे भने पनि
यो हो पाते टपरी।
पैला पैला चाडपर्ब
बिबाहका भतेर।
टपरीमा खान्थे अरे
टक्र्याटुक्रु बसेर।
जङ्गलमा गए पछी
पात थुप्रै पाइने।
पुजाआजा गर्दा खेरी
टपरी नै चाहिने।
अक्षता र फुल्पाती
नैबेद्दका प्रकार।
देवताको पुजा गर्छौँ
टपरीमा सजार।