रामप्रसाद पन्थी
रेसुङ्गा न पा २ गुल्मी
टुक्काहरू सिक्ने आज भन्नू भयाे गुरु
गुरु आज्ञा हामी पनि मान्याैं सुरू सुरू
टुक्काहरू खास अनि रूढ अर्थ राख्छन्
बुझ्दै गयाै भने पछि रमाइला लाग्छन्।
हल्ला गरी कसैले नि नखानु है कान
नत्र परी परीक्षामा पर्ला आलु खान।
आफू भन्दा ठूलाकाे त्याे कुरा सधै खानू
दुःख हाेला नत्र पछि पर्छ गाेता खानू।
श्री गणेश गर आजै राम्रो काम गर्न
आजबाटै सुरू गर काम फत्ते गर्न।
जस्ताे राेप्याे उस्तै फल्छ जीवन याे चल्छ
जथाभावी गर्याे भने आफ्नै टुप्पी जल्छ।
लामाे हात कैल्यै पनि गर्नु हुन्न हेर
अमूल्य छ समय त जानू हुन्न खेर।
डाँडाे काट्नु पर्छ हेर नाक काटेपछि
माटाे खान हुन्न बेर हात छाडेपछि।
टाउकोमा टेक्नु हुन्न कैल्यै पनि बाबू
रिसलाई सधै राख्नु आफूभितै काबु।
धाेती टाेपी हुन सक्छ बढी बाठाे बन्दा
खाडलमा परिन्छ नि अरूलाई खन्दा।
नराम्रो छ काम कुरा हात झिकी हाल्नु
कैल्यै पनि काम गर्दा हुन्न आँखा छल्नु।
घर खानु कम्मर कसी घुँडा धसी धसी
रूनु पर्छ नत्र पछि कुनाभित्र पसी।
हात लिनु साथीभाइ मुख फाेरी हाल्नु
कबाबमा हड्डी बन्छ कान फुक्न थाल्नु।
मेख मार्नु शत्रु बैरी मार्नु हुन्न आश
ज्ञानगुन लिनु पर्छ रहेसम्म सास।
दुःखाएँ कि मुख मेरै कति भयाै सुन्नी
जाँच गरी हेरी पर्याे कति बुझ्याै कुन्नि?
कानाखुसी गर्छाै किन आँखा सन्काउछाै ?
कुरा सुन्न छाेडी किन घाँटी तन्काउछाै ?
नाक राख मेरा बाबै आफ्नो अनि मेराे
बन्नु पर्छ राम्रो मान्छे बिन्ती छ है मेराे।