“डर”

 

राजन कार्की पाजु
धरान सुनसरि

जंगलमा गैँडा हस्याँग फस्याँग गर्दै दौडीरहेको देखेर सबै जनावरहरु ट्वाल्ल परेर हेर्न थाले ।
“किन‌‌ दौडेको होला ?” खरायोले छक्क पर्दै जिज्ञासा राख्यो।
“खै किन हो कुन्नि !” बाँदरले पनि अनभिज्ञता जनायो।
“अलि डराएको जस्तो पनि छ , जंगलमा शिकारी कुकुर पो पस्यो कि!” मृगले सशंकित हुँदै भन्यो।
मृगको यो आशंकाले सवै डराए , डर लुकाउन झाडी भित्र छिरे।
गैंडा वेपर्वाह दौडिरहेको थियो।
” हैन ! किन यसरी दौडेको गैंडा भाइ ? के भयो र ?” अलिक पर पुगेपछि जम्बु मन्त्रीले भेट्यो र अचम्म मान्दै सोध्यो।
“जंगलमा हात्ती पकड्न पुलिस छिरेको छ रे !” उसले स्याँ स्याँ हुँदै भन्यो।
“किन ! हात्तीले के बिगार गरेछ र ? “जम्बु मन्त्रीले अचम्मित हुँदै सोध्यो।
“गाउंमा पसेर उत्पात मचाएछ।” गैंडाले जवाफ दियो।
“ओहो ! तर तिमी त गैंडा हौ ! यसमा डराउनु पर्ने कुरा के छ र !” उसले झन अचम्म मान्दै सोध्यो।
“यदि पुलिसले समात्यो भने म हात्ती हैन गैँडा हूँ , भनेर प्रमाणित हुन मलाई दशौँ वर्ष लाग्ने छ।”