तुलसी पण्डित
मिठुको तन्द्रा एक्कासी खुल्यो । गाउँका तिनजना चेली हराएछन् । गाउँलेको रुवाबासीमा उनको मन अधैर्य भयो । उनले अब बुद्धिले काम लिनु पर्छ भन्दै एक गोप्य योजना बनाइन् ।
गाउँको बिर्खे पट्टी उनको ध्यान खिचियो । ऊ पनि चेलीबेटी बेचबिखनमा लागेको कुरा उनले गोप्य तबरबाट थाहा पाएकी थिइन् । उसको सम्पर्कमा पुगेकी मिठुबाट ठूलो आश्वासन पाएकोमा बिर्खे जिल्ल पर्यो ।
“हेर तिमीले यो काममा सहयोग गर्यौं भने थोरै समयमा मालामाल हुन्छौं ?”
“हो मैले सय जनाको विदेश जान चाहने केटीहरुको नाम तयार गरेको छु । उनीहरु बिदेश जान चाहन्छन् । आजको पन्ध्र दिनमा परेवा डाँडाको स्कूलमा जम्मा हुने योजनाका साथ काम गर्यौं । बरु त्यति धेरै केटीहरु लैजान धेरै मान्छे चाहिन्छन् । बरु तपाईको यस काममा लागेका सबैलाई बोलाउनु होला । त्यसमा तपाईको माथिल्लो स्तरमा काम गर्नेलाई पनि बोलाउनु पर्छ ? किनभने उनीहरुबाट नै यति ठूलो योजना सफल हुन सहयोग पुग्छ ।”
“हो तिमीले ठिक भन्यौं । त्यति ठूलो काममा हामी सबैको संलग्न हुन्छ नै । नत्र यो काम पूरा गर्न सकिँदैन नि ?”
रातको बखत परेवा डाँडामा निकै चहलपहल छ । केटी बेच्ने ठूलै गिरोह त्यहाँ जम्मा भएका छन् । फोन सम्पर्क भइरहेको छ । “ल ल एक घण्टामा हामी आइपुग्छौं ।” ” कतिजना हुनुहुन्छ तपाईहरु ?”
“हामी बीस जना छौ ।” “चाँडै गर रातीको समयमा यो गाउँबाट बाहिरिनु पर्छ । बिहान हुनु अगाडि होटेलमा गएर बस्नु पर्छ ।” “हस् हामी चाँडै आइपुग्छौं ?” पर्खेर बसेकाहरुमा ठूलै पहाड खनियो । चारैतिर प्रहरीले घेरा हाले । मिठुले अट्टहास हाँस्दै भनिन् ।
“देख्यौं चेलीको तागत । “