“तालमेल”

लता के सी
तीनकुने , काठमाण्डौ

“कविता वाचन गर्नुहोस् ,पुरस्कार जित्नु होस् । ” समाचार पढेर म खुसी भएँ। हतार हतार तलको जानकारी पढेँ ।  ‘मङ्सिर´ शीर्षकमा कविता वाचन गर्नु पर्ने लेखिएको थियो। तयारीका साथ उपस्थित हुन आह्वान गरिएको रहेछ ।
पूर्व तयारीका साथ तोकिएको मिति र समयमा म स्थान खोज्दै गन्तव्यतिर लागेँ । कार्यक्रम हुने स्थानमा पुग्दा हल टन्नै भरिएको थियो । कार्यक्रम सुरू भयो । उद्घोषकले पालै पालो प्रतियोगीलाई बोलाए । बीच बीचमा उनी भन्दै थिए ,  “शीर्षक एउटै भएको र प्रतियोगीको सङ्ख्या धेरै भएकोले बिना सम्बोधन र भूमिका नबाँधी कविता वाचन गरिदिनु होला ।”
लगातार ३ घण्टापछि कार्यक्रम सकियो। फेरि उद्घोषकले जानकारी गराए , ” फलानो , फलानो , फलानो निर्णायकले निर्णय नदिएसम्म प्रतियोगीहरू हल छोडेर नजानु होला । ”
नतिजा के होला ? म भित्र आँधी चल्यो । मन र दिमाग बीच द्वन्द चल्दै थियो । उद्घोषक कराए , ” अब प्रतियोगिताको नतिजा सुन्ने पालो आएको छ । निष्पक्ष निर्णायकको नतिजा म समक्ष आइ पुगिसकेकोले समय खेर नफाल्दै म पढेर सुनाउँछु । ”
हल शान्त भयो । सन्नाटाभित्र उनी चिच्याए , ” प्रथम `सहर´ , दोस्रो `किताब´ र तेस्रो` रूख´ शीर्षकका कविता उत्कृष्ट ठहर भएका छन् । विजय प्राप्त सर्जकहरूलाई बधाई छ ।”