“तीजको दर”

दुर्गा पौड्याल

गीता – सीता दिदी ऐले पनि आयो तीज घुमेर
हाम्रो घरघरको आँगनमा नाँचौ झुमेर ।
सीता – राम्रो लुगा छैन मेरो कता जाउँ मागँन
सबै आउलान् लरकेर तीज्मा नाँचन ।
गीता – सानो मन सानो चित्त नगराउन तिमीले
लुगा गहना लाउन दिन्छिन् तिम्री दिदीले ।


सीता– किनगर्ने तीज नआउँदै खाने नाँच्ने चलन
तीज त हाम्रो संस्कृति हो हुन्न बिगार्न ।
गीता – दिदी बैनी दर खान हिँड्छन् सुन्दर भएर
पालै पालो ख्वाउँछन दर होटल गएर ।
सीता – होटलमा खाने ख्वाउने दर होईन भोज हो
एकदिन खाने तीजको दर महिनादिन भो
गीता–घरमा पनि दुख हुन्छ दर पकाई ख्वाउँनलाई
आमा पनि दुख पाउँछिन भांडा माझनलाई
सीता- तीजभन्ने त्यस्तै चाडहो छोरीचेली बोलाउने
एकदिन भानी माइतीमा नाँची रमाउँने ।
गीता– होटलमा दर खाँदा फरक स्वाद पाईन्छ
अनेक थरि साथिसंगी भेट्न पाइन्छ ।
सीता –माइत जस्तो माया प्रेम होटलमा पाइँदैन
फुपु,चेली गाउँले साथी भेट्न पाइँदैन ।
गीता –पैसा भए माया प्रेम जता पनि पाइन्छ
थरि थरी लुगा गहना लाउन पाईन्छ ।
सीता – थाहा हुन्न गहनाले कस्को मन कस्तो छ
मिठो बोली ब्यवहार नै गहना जस्तो छ ।
गीता –तिमी कस्ती बैनी भयौ साथीसँगी नचाईने
साथीसँग रमाइलो गर्नै नपर्ने ।
सीता –संस्कार र संस्कृतिलाई जोगाउनु पर्दछ
देखावटी चलनगर्दा ॠणमा डुबिन्छ ।