“दसैँ आगमन”

246

घनश्याम रेग्मी

पाखा पर्वत छन् सफा झलमली मानौँ नुहाएसरि
आँखा टक्क अडिन्छ तान्छ मुटु यो लालित्यले बेसरी
क्या श्रृङ्गार गरिन् अहा प्रकृतिले छन् वैँसकी सुन्दरी
यो आभा र कला अहा! गजबकी हुन् स्वर्गकी यी परी।

सन्ध्या शुभ्र र शान्त छिन् गगनमा ताराहरू चम्किए
आयो भव्य शरद् विशारद फुले बास्ना अहा! गम्किए
आआफ्ना घरमा फिरूँ मन भयो मान्छेहरू फर्किए
बाटामा बटुवा हिँडे गति लिए गन्तव्यमा लम्किए।

फुल्छन् फूल अनेक रूप रङका बेली चमेली जुही
घुम्छन् फूल चुसेर ती भ्रमरले बिर्सेर वेला बही
आयो हार्दिक पर्व यो शुभ दसैँ आनन्दमा छन् जन
भेटी आपस बात छन् कति मिठा खोल्छन् सबैले मन।

आआफ्ना घरका सिँगार गरिने माटो कमेरो दली
बारीमा लटरम्म अन्न फलका हाँगा झुलेका फली
प्रात:काल सुनिन्छ नाद सुरिलो घन्टा बजेको यहाँ
माया मोह फिँजाउने शशिकला पूर्णेन्दु झुल्छन् जहाँ।

माताको छ उपासना घरघरै सन्ध्या प्रभा रात्रिमा
पूजा हुन्छ यहाँ अनेक रितले काली जगद्धात्रिमा
यो संसार चलाउने भुवनकी आमा कृपा दृष्टि होस्
यो मेरो शुभकामना छ सबमा ऐश्वर्यको वृष्टि होस्।