“दृष्टिकोण”

शान्ता शाक्य
धापाखेल ललितपुर
” साँझ पर्न लागिसक्यो। सबै फर्किसके। तपाईँ अगिदेखिन् यो पार्कमा एक्लै बसिराख्नुभएको देख्छु । कसलाई कुरिराख्नुभएको हो कुन्नि ।” यही कुरा पुन: दोहो-याएँ। कुनै जवाफ फर्काइन। ऊ लाटी रहिछ भनी सम्झें।
” नाम के होला ? कहाँ पुग्नुपर्ने हो ? म यहीको वासिन्दा हुँ। केही सहयोग गर्नुपर्छ भने भन्नुस्।……यता हेर्नुस् न ।”
टोलाएर मात्र बसिरही। मैले दृष्टिविहीन रहिछ भन्ने सम्झें।
“सुन्नुस् न तपाईं यति राम्री हुनुहुन्छ। एक्लै तरुनीलाई देख्दा मान्छेको कुदृष्टि पर्नसक्छ। म केही सहयोग गरूँ कि “
बारम्बार उही कुरा दोहो-याएँ। उसले सुनेको आभास दिइन। सम्झें बहिरी पनि रहिछ।
मौका यही हो भन्ने सम्झें। ऊ बसेको बेन्चमा नजिकिंदै बसें। कुनै प्रतिक्रिया आएन।हौसला बढ्यो। झन् नजिकिएँ। कुनै विरोध गरिन । म झन् झन् हौसिएँ। विस्तारै उसको देब्रे हात समातेर आफूतिर तानें। अचानक मेरो गालामा चट्याङ पड्कियो।  म रन्थनिएँ। आँखा रातो पार्दै ऊ कड्किई –
“ए मिस्टर ,तैंले मलाई जे सोचेको थिइस् नि, म त्यो होइन। म त बोल्न नसक्ने,सुन्न नसक्ने अनि देख्न नसक्ने दिदीबहिनीहरू एकान्तमा एक्लै बस्दा दुनियाँले कस्तो दृष्टिले हेर्छन् भन्ने विषयमा शोधकार्य गरिरहेकी शोधकर्ता हुँ बुझिस्।”